काठमाडाै‌ जेठ १४  पछिल्ला घटनाक्रमले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच संघ र प्रदेश २ मा सत्ता साझेदारीको संभावना वढेर गएको देखाएको छ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भएका पछिल्ला छलफल सकारात्मक भएपछि नेकपा र फोरमबीचको दुरी घटेको हो।

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा जनकपुरमा दिएको अभिव्यक्तिले चिसिएको नेकपा-फोरमबीचको सम्बन्ध एकाएक सुमधुर बनेको हो।

नेकपासँग फोरमको सम्बन्ध सुध्रिएपछि प्रदेश-२ को सत्ता साझेदार दल राष्ट्रिय जनकेपी ओली र उपेन्द्र यादव ता पार्टी (राजपा) र फोरमबीचको सम्बन्ध भने बिग्रिएको छ। केन्द्रीय सरकारले  संसदमा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेपछि फोरम-राजपाबीचको सम्बन्ध बिग्रिएको हो।

मुख्यमन्त्री राउतको अभिव्यक्तिले चिडिएको नेकपाले प्रदेश-२ मा भने फोरम नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। केन्द्र र प्रदेशमा फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवं प्रादेशिक सरकार बनाउने उद्देश्यबाट प्रेरित रहेको विश्लेषण गर्न थालिएको छ।

आइतबार बिहान अध्यक्ष प्रचण्डको समेत उपस्थितिमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले फोरमले उठाउँदै आएको संविधान संशोधनको मागलाई संवोधन गर्ने आश्वासन दिएपछि अध्यक्ष यादव नेकपासँग सत्ता साझेदार गर्न सहमत भएको श्रोतले जनाएको छ।

नेकपा र फोरम नेताबीच केही दिनयता शृंखलाबद्ध छलफल भएका थिए। छलफलमा फोरमले उठाउँदै आएका संविधान संशोधन, नागरिकतालगायत विषयमा नेकपाले सकारात्मक जवाफ दिएको बताइएको छ।

दुईपक्षीय छलफल भइरहेका विषयलाई नै प्रधानमन्त्रीले आइतबार संसदमा नीति तथा कार्यक्रममाथिको जवाफ दिने क्रममा स्पष्ट उल्लेख गरेपछि फोरम नेकपाप्रति सकारात्मक बनेको हो। प्रधानमन्त्रीको जवाफपछि सरकारको नीति तथा कार्यक्रममा फोरमले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएको थियो।