काठमाडौं जेठ १३-   गणतन्त्रअघि तत्कालिन राजा शाह र थापा एउटा कार्यक्रममा lदुई हप्ता लामो सिमरा बसाईंपछि पूर्व राजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्कने भएका छन्। ३० बैशाखमा सिमरा प्रस्थान गरेका उनी आज दिउसो १ बजे उनी हवाई मार्गबाट काठमाडौं फर्कन लागेका हुन्।

२० फागुन-२५ चैत्र (०७४) को झापा बसाईंको क्रममा भएका राजनीतिक भेटघाट विवादमा परेकाले होला, सिमरा बसाईं अवधिभर पूर्व राजा विशुद्ध धार्मिक गतिविधिमा मात्र सहभागी भए, राजनीतिक व्यक्तिहरुसँग भेट गरेनन्।

४ चैत्रमा शाहले दमकस्थित आफ्नो स्वामित्वको हिमालयन टि स्टेट गार्डेनमा विभाजित तीनवटै राप्रपाका ९ जना नेताहरुसँग भेटेका थिए। भेटमा उनले विभाजित राप्रपा एक भएर जानुपर्नेमा जोड दिएका थिए।

कमल थापासँग बाटैमा भेट
एकिकरणमार्फत् तीनै राप्रपाका अध्यक्षहरुलाई विस्थापित गरेर आफू समर्थक नयाँ नेतृत्व ल्याउन खोजेको भन्दै त्यो भेटघाट विवादमा प¥यो। संभवत यही कारण उनले सिमरा बसाईंका क्रममा राजनीतिक भेटघाट गरेनन्।

जबकि, उनी सिमरामै रहेका बेला राप्रपाको केन्द्रीय परिषद बैठक (७-९ जेठ) भएको थियो र राप्रपाका सबै नेताहरु बीरगञ्ज भेलामा थिए। ज्ञानेन्द्र बीरगञ्ज नजिकैको सिमरामा बाखसखा प्रभु शमशेरको निवासमा थिए।

बीरगञ्जमा रहेका थापासहित राप्रपाका नेताहरुसँग भेट नभएपनि पूर्वराजा र राप्रपा अध्यक्ष थापाबीच भने बाटोमा जम्काभेट हुनपुग्यो। काठमाडौं फर्कन लागेका थापा र बीरगञ्ज जाँदै गरेका शाहबीच परवानीपुरमा जम्काभेट भएको हो।

केन्द्रीय परिषदको बैठक सकेर अध्यक्ष थापा त्यसदिन काठमाडौं फर्कँदै थिए भने पूर्वराजा शाह पुजाआजाका लागि बिरगञ्जस्थित प्रसिद्ध धार्मिक स्थल बिर्तामाई मन्दिरतर्फ जाँदै थिए। यो अपरान्ह साढे ४ बजेको कुरा थियो।

बाटोमा ज्ञानेन्द्र र उनको सुरक्षाका लागि खटिएका गाडीहरु देखेपछि थापा चढेको गाडीको गति सीमित गरियो भने पूर्व राजाको गाडीको गतिपनि सीमित भयो। त्यसपछि थापाले पूर्वराजा शाहलाई नमस्कार गरे। पूर्वराजाले पनि नमस्कार फर्काए।

राप्रपाका सह-प्रबक्ता मोहन श्रेष्ठले पूर्वराजा शाह र अध्यक्ष थापाबीच भेट भएको स्वीकार गरे। श्रेष्ठले भने, ‘गाडीको गति कम गरेर अध्यक्षज्यूले पूर्वराजालाई अभिवादन गर्नुभयो, पूर्वराजाले मुस्कुराउँदै अभिवादन फर्काउनुभयो।’

सिमरा गतिविधि
९ जेठमा बीरगञ्जको बिर्तास्थित दुर्गा मन्दिरमा पुजाआजाका लागि जानुबाहेक पूर्वराजा सिमरा बसाईंका क्रममा थप दुई धार्मिक केन्द्रहरुमा पनि गए।

उनी ५ जेठमा पर्साको पोखरियास्थित शिब मन्दिर पुगेर पुजाअर्चना गरेका थिए। यसैगरी ११ जेठमा उनी रौतहटको मत्सरीस्थित दुर्गा भवानी मन्दिरमा पुजाका लागि गएका थिए।

७ जेठमा पूर्वराजाले उडिसास्थित गोबद्र्धनपुरीका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई बीरगञ्जस्थित गोपालमण्डलीमा साँझ कुराकानी गरेका थिए। ३० बैशाखमा शंकराचार्यको काठमाडौंमा नागरिक अभिनन्दन भएकै दिन पूर्वराजा सिमरा झरेका थिए।