पुस २४, २०७४

भाइरल जटिल नभएको स्वास्थ्यकर्मीको भनाइ

जाजरकोट — जुनीचाँदे गाउँपालिकामा आइतबारसम्म ४ सय भाइरलका बिरामीको उपचार भएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोली उपचारमा सक्रिय छ ।

जुनीचाँदे १ को बडुले स्वास्थ्य चौकी, २ को भैरव मावि मजकोट र ३ को स्याँलामा गरी आइतबार मात्र २ सय ५० बिरामीको उपचार भएको छ । जुनीचाँदेमा दुई सातादेखि भाइरल फैलिएको थियो । रोग प्रभावित गाउँमा २ हजारभन्दा बढी बिरामी रहेको स्वास्थ्यकर्मीले जनाएका छन् ।
ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, आँखा रातो हुने, घाँटी दुख्नेलगायत समस्याका बिरामीको संख्या बढी भएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट मेडिकल अधिकृत डा. पवन शाक्यले बताए । रुघाखोकी र ज्वरोबाट वृद्धवृद्धा र ५ वर्षमुनिका बालबालिका बढी प्रभावित भएको उनले जानकारी दिए । जुनीचाँदेमा फैलिएको भाइरल जटिल खालको नभएको र सिकिस्त बिरामी पनि फेला नपरेको उनले बताए ।
भाइरल नियन्त्रणमा ल्याउन समस्या पनि नभएको उनले बताए । जुनीचाँदेमा अत्यधिक जाडो बढेपछि रुघाखोकी, ज्वरो आउनेलगायत समस्याका बिरामी घरघरमै रहेको उनले बताए । जाडोका कारण अन्य उच्च भूभागमा पनि भाइरलका बिरामी बढ्ने खतरा देखिएको उनले बताए । स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गरे र बिरामीले चिसोबाट बच्न न्यानो कपडा लगाउने तथा तातो खानेकुरा खाने गरे भाइरल नियन्त्रणमा आउने उनको भनाइ छ । डा. शाक्यसहित ९ जना स्वास्थ्यकर्मीको टोली औषधिसहित रोग प्रभावित गाउँका घरघर पुगेर बिरामीको उपचार सेवा सुरु गरेको छ ।
रोग प्रभावित क्षेत्रमा सञ्चारको असुविधाले स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा थप समस्या भएको छ । भौगोलिक विकटता भएको ठाउँमा टेलिफोन सुविधासमेत नहुँदा सम्बन्धित निकायसँग सम्पर्क गर्न समस्या भएको डा. शाक्यले बताए । नियमित टेलिफोन नहुँदा जिल्ला स्वास्थ्यलगायत निकायसँग सम्पर्कविछेच्द भएको उनले बताए । जुनीचाँदेमा साताअघि भाइरलका कारण ४ वृद्धवृद्धा र ५ जना बालबालिकाको मृत्यु भइसकेको छ । जुनीचाँदेको जुनी, चाँदे, काप्रा, बडुले, कार्की गाउँ, स्याँला, मजकोट, आलीमौगाना, डाँडाकोट, परालेमालगायत गाउँमा रुघाखोकी र ज्वरोका बिरामी रहेको डा. शाक्यले बताए 

баннернаяSetlinkswww.mskhm.siteofficeВладимир Швед Львовский бизнесменоткрыть фирму в польше