परिवर्तन कार्की

परिवर्तन कार्की

डाक्टर कपिलले उनीसँग सोधे, ‘तिमीलाई के हुन्छ?’ परिवर्तनले सोझो उत्तर दिए, ‘हिँड्दा जमिन हल्लन्छ।’ कपिल डाक्टरले सहजतासँग भने, ‘त्यसो हो भने अब हिँडन सुरु गर।’

सुरुमा जण्डिस देखियो। लगत्तै टाइफाइड भयो। उनी थलिए। डाक्टरकहाँ धाउँदा थाहा भयो, उनलाई इन्जाइटिले गाँजेछ। रोगको उपचार हुनै सकेन। उनी नराम्ररी थलिए। हिँड्दा जमिन पूरै हल्लिएको महशुस हुँदा उनी हिँड्नै नसक्ने भए। उनी अर्थात् युवा रंगकर्मी परिवर्तन कार्की।

उनी ‘क्याप्सुल’ मा जीवन नाप्थे। मनोरोग विशेषज्ञहरुकहाँ धाउँदै गर्दा परिवर्तनको मन साँच्चिकै बदलियो। शरीरमा उर्जा मरेकै थिएन। डिग्रीको क्लास छाडेर राजधानीबाट पोखरा आएपछि उनी एकाएक साहित्यतिर मोडिए।

‘म साहित्यको विद्यार्थी त थिएँ तर लेख्छु नै भन्ने थिएन’, उनले अतित सम्झँदै पोखरामा भने, ‘पछि म एकाएक पोखराको साहित्यिक कार्यक्रमहरुमा बाक्लिन थालेँ।’

उनले साहित्यिक कार्यक्रममै साथी संगति जोडे। नियमित गजल, कविता वाचन हुने गरे पनि पोखरामा नाट्यकर्म र आख्यानबारे खासै चर्चा हुँदैनथ्यो। साथी प्राञ्जलले रंगमञ्चमा काम गर्ने संस्था गठनको प्रस्ताव गरे। प्राञ्जल संयोजक भएको तदर्थ समितिमा परिवर्तन अटाए। संयोग नाट्य संस्था पञ्चामृत गठन गर्दा चाहिँ परिवर्तन नै त्यसको अध्यक्ष बन्न पुगे।

२०६५ सालदेखि ओखतीले छाडेकै थिएन। रेडियोमा नाटक गर्ने कुरा चल्यो। स्थानीय अन्नपूर्ण एफएममा हप्ताको एक दिन ४५ मिनेटको रेडियो नाटक उत्पादन र प्रशारणको चाँजोपाँजो मिल्यो। ओखतीको टेकोमा धानिएका परिवर्तन भाञ्जाको हात समाएर स्टुडियो आउन थाले। रेडियो नाटकलाई सडकसम्म पनि पुर्याए, उनीहरुले। अभिनय, लेखन सबैमा हात हाले। नाटकका विषयबस्तुहरु बुझ्न सक्ने बने।

अचम्म!

उनको रोग केही बिसेक भयो। डाक्टरकहाँ धाउनु छँदै थियो। एक दिन कसैको मुखबाट सुने, ‘डा. कपिल उपाध्यायले रोग छु मन्तर पार्छन्।’

डाक्टर कपिललाई भेट्न जाँदा उनी बाटैमा ढले। बटुवाहरुले अस्पताल पुर्याइदिए।

डाक्टर कपिलले उनीसँग सोधे, ‘तिमीलाई के हुन्छ?’

परिवर्तनले सोझो उत्तर दिए, ‘हिँड्दा जमिन हल्लन्छ।’

कपिल डाक्टरले सहजतासँग भने, ‘त्यसो हो भने अब हिँडन सुरु गर।’

डाक्टरको भनाईलाई उनले फरक कोणबाट बुझे। आखिर हिँड्नुको अर्थ त जीवनलाई अगाडि बढाउनु पनि त हो। नाटकको रस पसेकै थियो। उनले यही क्षेत्रमा सक्रियता बढाए। संयोग, त्यही बेला उनी कृष्ण उदासीको निर्देशनमा मञ्चन हुन लागेको ‘पुलिस र प्यास’ नाटकमा अभिनय गर्दै थिए। स्टेजमा उक्लने बेला उनलाई रोगले गाँज्यो।

परिवर्तन कार्कीले निर्देशन गरेको नाटकको एक दृष्य

‘म जसोतसो मञ्चमा उक्लेँ, पहिलो ५ मिनटजति त खप्नै सकिन, पछि त आफैं ठीक पो भएछ’, उनले भने, ‘अनि मैले सम्झेँ, मलाई नाटकले जीवन दियो, अब म नाटकलाई जीवन दिन्छु।’

हो, उनले इन्जाइटिकलाई जिते। २०६६ सालबाट सुरु गरेको ओखतीको यात्रा २०७० मा आफैंले टुंग्याए। बीचमा फेरि एक वर्षजति ओखती खाए पनि खास काम भने नाटकले नै गर्यो।

पोखरामा उनकै अगुवाईमा बनेको पोखरा थियटरमा आफ्नै निर्देशनमा ‘बितेका कुरा’ मञ्चनको व्यस्तताबीच परिवर्तनले भने, ‘अहिले म बिहान ९ बजेबाट राती १० बजेसम्म नाटकघरमै हुन्छु, मलाई लाग्छ, म संसारकै स्वस्थमध्येको एक हुँ।’

परिवर्तनले काठमाडौंमा हुँदा गुरुकुलमा केही नाटक हेरेका थिए। रंगमञ्च के हो भन्ने थाहै नहुँदै पञ्चामृत जन्म्यो। पुलिस र प्यास, मौषम हराएको देश, एक रुपैयाँजस्ता नाटकमा गरेको अभियनले खारिँदै गर्दा नाटक घरको आवश्यकताले पिरल्यो। त्यस्तैमा उनले एकदिन घोषणा गरे, ‘हामी पोखरामा नाटकघर बनाउँछौँ।’

जोसमा बोलेको कुरा पूरा गर्न गाह्रै थियो। पोखराको गैह्रापाटनमा २ रोपनीजति जग्गा भेटेपछि नाटकघरको लागि लगानी जुटाउने चुनौति खडा भयो। धन्न, जग्गाधनी शंकरनाथ कोइराला नाटकघरको सेयरहोल्डर बन्न तयार भए। दिलप्रसाद गुरुङ, उनै शंकर र परिवर्तनले ऋण धन गरेर नाटकघर ठड्याउने संकल्प गरे।

नाटकघर कस्तो हुन्छ? उनीहरुलाई थाहै थिएन। सिल्पी, सर्वनाम, प्रज्ञा प्रतिष्ठान, मण्डलाजस्ता राजधानीका नाटकघर हेर्न गए। रंगकर्मीले हौसला दिए। भारतको नेसनल स्कूल अफ थिएटरको चक्कर लगाए। पोखराका पुराना रंगकर्मीहरुको सुझाव लिए। २०७३ चैतमा नाटकघरको शिलान्यास भयो। गएको फागुनमा पोखरा थिएटरअन्तर्गत गन्धर्व नाटकघर तयार हुँदा करिब ८० लाख रुपैयाँ खर्च भइसकेको थियो।

परिवर्तन कार्कीले निर्देशन गरेको नाटकको एक दृष्य

नाटकघरको उद्घाटनसँगै नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति समेत रहेका सरुभक्तको ‘सिरुमा रानी’ मञ्चन भयो। रंगमञ्चमा देखिएको यो चहलपहललाई वर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसम्मले मुक्तकण्डले प्रशंसा गर्न भ्याए।

‘नाटकघर बनेपछि के के न हुन्छ भन्ने थियो, तर हामीले त बल्ल सुरु पो गरेका रहेछौँ’, नाटकघर बनेपछिको यात्राको संक्षिप्त सिँहावलोकन गर्दै परिवर्तनले भने, ‘मुख्य चुनौति भनेको त नियमित नाटक मञ्चन पो रहेछ।’

परिवर्तनले बुझेका छन्, नियमित मञ्चनले मात्र नाट्यकर्म जिवित हुन्छ। मञ्चनको लागि नाटक चाहियो, कलाकार चाहियो। निर्देशन त छँदैछ। त्यसका साथै नियमित टिकट काट्ने दर्शक पनि चाहिने अनूभूति पनि रहेको छ, परिवर्तनसँग।

‘अहिले हामीले कलाकार उत्पादनका लागि कार्यशाला चलाएका छौँ, केही कलाकार तयार भएका छन्’, आत्मविश्वासी देखिएका उनले भने, ‘हामी कलाकारहरुलाई रोजिरोटीको सपना बाँड्दैनौँ, रंगमञ्चको यात्राका लागि तयार बनाउने काम गर्छौं।’

आफू भोकै बस्नु परे पनि यही क्षेत्रमा रहने प्रतिज्ञा गर्ने केही कलाकारहरु तयार भएकोमा उनी मख्ख छन्।

परिवर्तन कार्की

अब के त?

नियमित अभ्यास, नियमित नाटक मञ्चन र टिकट काटेर थिएटर पसेका बाक्लो दर्शक!

यसका लागि रहरलाई पेशामा बदल्ने चुनौति पनि थपिएको छ। तर, परिवर्तन आफूले गरेको कामप्रति समर्पित र भविष्यप्रति आशावादी पनि रहेका छन्।

पोखरामा नाट्य गतिविधी बढेसँगै निजी विद्यालयहरुबाट ‘ड्रामा टिचर’ को माग बढेको प्रसङ्ग उप्काउँदै उनले भने, ‘थिएटर बनेपछि यहाँ रहेका विभिन्न नाटक समूहहरुलाई एकै ठाउँमा गोलबन्द गर्ने अभियान पनि जारी नै छ।’

जाँदाजादै एउटा कुरा, इन्जाइटिको पीडा भुलाउने नाट्यकर्ममा निर्देशनको धपेडी चाहिँ कस्तो हुँदो रहेछ?

‘थिएटरको व्यवस्थापन गर्दै गर्दा निर्देशनमा हात हालेको हुँ, सिक्ने कुरा रहेछ’, परिवर्तनले भने, ‘नाटकले दिएको जीवन नाटकमै समर्पण गर्दाको खुसी निर्देशनमा खोज्ने प्रयत्न मात्र हो मेरो।’

परिवर्तन कार्कीले कक्षा ११ को पाठ्यक्रममै रहेको ‘बितेका कुरा’ भन्ने कथालाई नाट्य रुपान्तरणसँगै मञ्चन गरेका हुन्।