ट्रम्पले सपथग्रहणको दिन गरे पत्नीसँग झगडा, विष हालिने आशंकाले आफ्नो सामान कसैलाई छुन दिँदैनन्’

      पुस २३ काठमाडौं 

‘मैले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्यमाथि कहिल्यै प्रश्न उठाएको छुइनँ। मैले उहाँको मानसिक तन्दुरुस्तीबारे प्रश्न गर्नुपर्ने कुनै कारण छैन।’

यो भनाइ हो अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको। शुक्रबार प्रकाशित एक पुस्तकमा ट्रम्पका आफ्नै स्टाफले उनलाई ‘केटाकेटी’जस्तो नजरले हेर्ने दाबी गरेपछि टिलरसनले त्यसको खण्डन गर्दै यस्तो बताएका हुन्।

सो पुस्तक पाँच दिनपछि प्रकाशित हुने तय भएको थियो। तर सञ्चारमाध्यममा पुस्तकांश प्रकाशित भएपछि यति धेरै विवाद उत्पन्न भयो, स्वयं राष्ट्रपति ट्रम्पले पनि ट्विटरमार्फत् त्यसको खण्डन गरे। उनले सो पुस्तक ‘झुठको पुलिन्दा’ भएको आरोप लगाए। त्यसमाथि ट्रम्पले कानुनी प्रक्रियाबाट पुस्तक प्रकाशन रोक्ने प्रयास पनि गरे। अमेरिकी राष्ट्रपतिले नै दोहोर्‍याइदोहोर्‍याई पुस्तकको आलोचना गरिदिएपछि के चाहिन्थ्यो र? त्यसैले प्रकाशकले प्रकाशन मिति पाँच दिन अगाडि सारेर शुक्रबारै पुस्तक बजारमा ल्यायो। बजारमा पुगेलगत्तै सो पुस्तकका प्रति समाप्त भएको समाचारहरुमा जनाइएको छ।

माइकल वोल्फ

माइकल वोल्फ

हेनरी होल्ट एन्ड को.द्वारा प्रकाशित ‘फायर एन्ड फ्युरीः इनसाइड द ट्रम्प ह्वाइट हाउस’ पुस्तकका लेखक हुन् पत्रकार माइकल वोल्फ। वोल्फले ह्वाइट हाउसमा ट्रम्पलाई ‘विदुषकहरुको घेरामा रहेको बेबकुफ’ का रुपमा चित्रित गरेका छन्।

के छ पुस्तकमा?
पुस्तकमा कैयौँ यस्ता दाबी गरिएका छन्, जसलाई पत्याउन निकै मुस्किल छ। वोल्फले आफ्नो पुस्तक दुई सयभन्दा बढी अन्तर्वार्ताहरुमा आधारित रहेको दाबी गरेका छन्।

१. चुनाव जित्दा ट्रम्पले होस गुमाए
पुस्तकका अनुसार २०१६ को राष्ट्रपतीय निर्वाचनको राती ८ बजेपछि ट्रम्पले चुनाव जित्ने छाँट देखिन थाल्यो। त्यसबेला ट्रम्प भुत देख्दा सातो हराएझैँ भएका थिए। एक घण्टापछि मात्रै उनको होस खुलेको जस्तो भएको थियो। उनकी पत्नी मेलानिया पनि आँशुसरी भएकी थिइन्। यद्यपि त्यो खुसीको आँशु थिएन।

२. सपथग्रहणका बेला ट्रम्पले पत्नीसँग झगडा गरे
सपथग्रहण गरिरहँदा ट्रम्प ठूला कलाकार उपस्थित नभएकोमा रिसाइरहेका थिए। कुनै निहुँमा उनी पत्नीसँग झगडा गरिरहेका थिए। मेलानिया पनि मुस्किलले आँसु रोकिरहेकी थिइन्। दिनभरी उनी रिसाइरहे।

सपथग्रहण समारोहमा ट्रम्प दम्पत्ती

सपथग्रहण समारोहमा ट्रम्प दम्पत्ती

३. ह्वाइट हाउसमा ट्रम्प डराए
वोल्फका अनुसार ह्वाइटहाउसमा ट्रम्पलाई डर लाग्यो। उनले त केनेडीको पालादेखि पहिलो पटक पत्नीसँग अलग कोठा लिए। सुरुमा उनले ह्वाइट हाउसमा एउटा टेलिभिजन हुँदाहुँदै थप दुई ओटा टेलिभिजन मगाए। त्यसपछि ढोकामा ताल्चा लगाइमागे।

४. साथीहरुका पत्नीसँग सुत्दा जीवन सार्थक हुन्छ भन्ने धारणा
ट्रम्पले बेलाबखत आफ्नै साथीका पत्नीसँग शारीरिक सम्बन्ध कायम गर्न सफल हुँदा ‘जीवन सार्थक’ बन्ने बताएको वोल्फले दाबी गरेका छन्।

५. ट्रम्पपुत्री इभान्का राष्ट्रपति बन्न चाहन्छिन्
ट्रम्पकी छोरी इभान्का भविष्यमा अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्न चाहने दाबी पनि पुस्तकले गरेको छ। यसका लागि उनले पति जारेड कुस्नरसँग सम्झौता पनि गरिसकेकी छन्। यदि भविष्यमा त्यस्तो मौका आयो भने जारेड होइन इभान्का चाहिँ राष्ट्रपति पदमा उठ्ने।

६. ट्रम्प प्रशासनलाई आफ्नो प्राथमिकता नै थाहा थिएन
ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाइँ कुस्नरलाई ह्वाइट हाउस डेपुटी चिफ अफ स्टाफले राष्ट्रपति के गर्न चाहन्छन् भनेर सोध्दा उनले कुनै उत्तर दिन सकेनन्।

७. रुपर्ट मर्डोक ट्रम्पलाई मूर्ख ठान्छन्
मिडिया क्षेत्रका बादशाह मानिने मर्डोकको ट्रम्प प्रशंसा गरिरहन्छन्। तर मर्डोक ट्रम्पलाई अझै मूर्ख ठान्छन्।

८. साउदी अरबको कु आफूले गराएको ट्रम्पको दाबी
साउदी अरबमा वर्तमान युवराज मोहम्मद बिन सलमानले पूर्व युवराज मोहम्मद बिन नायफलाई हटाएर आफू स्थापित भएपछि त्यसको जस ट्रम्प आफूले लिएको पुस्तकको दाबी छ।

९‍. ट्रम्प पुरुषलाई भन्दा महिलालाई बढी विश्वास गर्छन्
काम गर्ने क्रममा ट्रम्पले महिलाहरुलाई बढी विश्वास गर्छन्। उनी गोप्य कुराहरु महिलालाई सुनाउँछन् तर पुरुषहरुलाई सुनाउँदैनन्।

इभान्का ट्रम्प

इभान्का ट्रम्प

१०. आफूलाई विष हालिदिने आशंकाका कारण ट्रम्प निकै डराउँछन
पुस्तकका अनुसार ट्रम्पले ह्वाइट हाउसका स्टाफहरुलाई आफ्ना व्यक्तिगत सरसामान, खासगरी टुथब्रस नछुने निर्देशन दिएका छन्। आफूले जुन सामान जहाँ छोडेको हो, त्यसलाई त्यहीँ रहन दिन उनले आदेश दिएका छन्। कतिसम्म भने फोहोर कपडा पनि भुइँबाट टिप्न उनी दिँदैनन्। यसको कारण उनी आफूमाथि विष प्रयोग हुने डर भएको वोल्फ बताउँछन्। त्यसैले उनी म्याकडोनाल्डको खाना खान पराउँछन्।

११. ट्रम्पका सहयोगीलाई नै उनको क्षमतामाथि आशंका छ
पुस्तकका अनुसार ट्रम्पका एकदमै निकटस्थ सहयोगी पनि उनको देश हाँक्ने क्षमताप्रति विश्वस्त हुन सकेका छैनन्।

त्यसबाहेक ट्रम्पले बर्खास्त भएका एफबीआईका निर्देशक जेम्स कोमेलाई गाली गरेको, रात छिप्पिएपछि आफ्ना अर्बपति साथीहरुलाई फोन गर्ने गरेको, आदि खुलासा पनि पुस्तकमा गरिएको छ।

ट्रम्पले यी दाबीहरुको खण्डन गरेका छन्। यही क्रममा आफ्ना पूर्व सल्लाहकार स्टिभ ब्याननलाई पनि ‘दिमाग खुस्किएको’ भन्दै  उनले गाली गरेका छन्।

तर लेखक वोल्फले आफ्ना सबै दाबी सही भएको टिप्पणी गरेका छन्। समीक्षकहरुले पुस्तकमा उल्लेखित विवरणहरु त्रुटिपूर्ण भएको बताएका छन् भने अर्काथरि समीक्षकले वोल्फले ट्रम्पको चित्रण केही हदसम्म तथ्यसंगत तरिकाले गरेको बताएका छन्। एजेन्सी



प्रतिकृया दिनुहोस

stworknewfoпринципыпродвижение брендакостюмы норфинобувь осень 2016 зима 2017-2018