काठमाडौं जेठ ११

प्रचण्ड प्रचण्ड

केन्द्रीय कमिटीमा मनोनयनको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्व घटक माओवादी केन्द्रका नेताहरु असन्तुष्ट देखिएका छन्। असन्तुष्ट नेताहरुले समूह समूह बनाएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटी केन्द्रीय सदस्यको सूची सच्याउन दबाब दिन थालेका छन्।

पूर्व माओवादी केन्द्रमा रहेका पूर्व सिँचाईमन्त्री उमेश यादव, पूर्व राज्यमन्त्री सूर्यमान दोङ, श्रीप्रसाद जबेगु लगायतका नेताहरु असन्तुष्ट देखिएका हुन्। पूर्व माओवादी केन्द्रको पोलिटब्यूरोमा रहेका झण्डै ८० जना नेताहरु केन्द्रीय कमिटीमा भएको मनोनयनप्रति सन्तुष्ट नरहेको जबेगुले बताए। 

असन्तुष्टहरुले प्रचण्डलाई समेत भेटेर नेकपाको केन्द्रीय समितिमा पूर्व माओवादी केन्द्रबाट भएको मनोनयन न्यायोचित नभएको भन्दै त्यसलाई सच्याउन दबाब दिएका छन्। खासगरी पूर्वी क्षेत्रका नेताहरुले केन्द्रीय समितिमा भएको मनोनयनप्रति अध्यक्ष प्रचण्डलाई नै भेटेर असन्तुष्टि जनाएका छन्।

समूह बनाएर असन्तुष्टि पोख्न आएका आएका असन्तुष्ट नेताहरुसँगको कुराकानीमा प्रचण्डले असन्तुष्टिको सम्बोधन गरिने र कोही कसैप्रति अन्याय नहुने आश्वासन दिएको जबेगुले बताए। भने, ‘उहाँको आश्वासन कार्यान्वयन कसरी हुन्छ, हेर्छौ। र, आगामी दिनमा कसरी जाने भन्ने निर्णय गर्छाैं।’

नेतृत्वलाई दबाब दिनका लागि नेकपाको केन्द्रीय समितिमा नपरेका माओवादी केन्द्रका पूर्व पोलिटब्यूरो सदस्यहरुको समूहले सूर्यमान दोङ (काभ्रे), मुक्साहाङ मेयाङ्गो (सुनसरी), उमेश यादव (सप्तरी) लगायतलाई जिम्मा दिएको छ र उनीहरुले राजधानीमा रहेर प्रचण्डमाथि दबाब दिइरहेका छन्।