बराह ज्वेलरीका सोनु सुब्बा र सम्झना राईबराह ज्वेलरीका सोनु सुब्बा र सम्झना राईगत मंगलबार साँझ याउमातेइमा भएको २५ टेल सुन चोरीबारे नेपालखबरमा आएको खबर हङकङेली नेपाली वृत्तमा डढेलोझैँ फैलियो। खबर पढिसकेपछि कतिपयले ‘त्यति धेरै सुन घरमा राख्नु मूर्खता हो’ भन्ने प्रतिक्रिया दिए। कतिले त्यो क्षतिप्रति सहानुभूति प्रकट गरे त कति आफूसँग भएको सुनलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर गम खान थाले।

उक्त घटनामा केही प्रहरी र सिआइडीहरुले घटनास्थलमा फेला परेको औँठाछाप संकलन गर्नुबाहेक अहिलेसम्म अन्य कार्यवाही गरेको छैन।

यो चोरीको घटनालगत्तै हङकङको मुलधारको मिडियामा अर्को चोरीको खबरले प्रमुखता पाएको छ। हङकङमा एक पटक तेस्रो धनी कहलिएका अर्बपति स्वर्गीय चेउङ यु तुङको रिपल्स बेस्थित विलाशी महलबाट दश थान सुनका गहना र ३० हजार नगद चोरी भएको खबर आएको छ। सुरक्षाकर्मी, सिसिटिभी, र बलियो संरचना भएको स्थानमा उक्त चोरी भएको हो। चोरी रातमा भएको हुन सक्ने प्रहरीले बताएको छ। चोर पक्रिन आसपासको जङ्गलमा स्निफर डगसहित प्रहरी परिचालन गरिएपनि चोर पक्राउ पर्न सकेन।

त्यत्ति महँगो सुनको नेकलेस किन किनें मैले?

हङकङको याउमातेइमा नेपालीको फ्ल्याटबाट ४५ लाखको सुन चोरी

हङकङका नेपाली समुदायमा भने यस्ता चोरी र लुटपाटका घटना शृङ्खलाबद्ध रुपमा घटिरहेको छ। कहीँ ढोका फोरेर चोरी भएका छन् त कतै व्यक्तिलाई एकान्तमा पारेर लुटिएका छन्।

‘मेरो त चर्पीबाटै कान र घाँटीको सुन चोरी भयो,’ एक नेपाली महिला आफ्नो सुन लुटिएको स्मरण गर्दै भन्छिन्, ‘त्यो नेपाली अल्लारे थियो। मैले ए बाबु यो त छोरी मान्छेको चर्पी हो मात्र के भनेको थिएँ, झम्टिएर कानको सुन र घाँटीको सिक्री लुछेर भाग्यो।’

सुन लुटिएकी अर्की एक महिला सुनाउँछिन्, ‘म त सिँढीमा बसिरहेकी थिएँ। एक जना हेर्दा लुते देखिने नेपाली केटोले घाँटीको सिक्री चुँडाएर भाग्यो।’

मीरा कार्की

मीरा कार्की

यस्ता घटना बग्रेल्ती घटिरहेका छन्। कतिपय घटना पीडित आफैँसँग मात्र सीमित हुने गरेका छन्। र यस्ता चोरीका घटनामा संलग्न अपराधीहरु पनि अधिकांश नेपालीहरु नै हुने गरेको पीडितहरुको भनाइ छ।

आफूलाई साम्भ्रान्त देखाउने मानसिकता, सांस्कृतिक प्रभाव आदिले हङकङमा नेपालीहरु बीच सुनको गहना किन्ने र लगाउने कुरामा एक किसिमको होडबाजी नै चलेको देखिन्छ। त्यसो त पैसा बचतका लागि लगानीकै रुपमा सुनको जोहो गर्नेहरु पनि प्रशस्तै छन्।

‘नेपालीहरु अत्यधिक मात्रामा सुनका गहना बनाउँछन्, हामी त्यस्ता ग्राहकलाई सुरक्षासम्बन्धी सल्लाह पनि दिन्छौँ,’ जोर्डनमा १४–१५ वर्षदेखि संस्कृति ज्वेलरी सञ्चालन गर्दै आएका प्रकाश थापा भन्छन्, ‘तर सबै आआफ्नै कारणले लापरवाही गरिरहेका हुन्छ्न्। … सक्यो, दैलो देख्योजस्तै भइरहेछ। यसैलाई मध्यनजर गरेर भविष्यमा ग्राहकका लागि सेफ बक्सको व्यवस्था गर्ने योजना रहेको छ।’

उनी सुन सुरक्षित गर्न सेफ बक्स प्रयोग गर्ने सल्लाह दिन्छन्।

जोर्डनमै सञ्चालित बराह ज्वेलरीमा झन्डै दश वर्ष काम गरेर २० किलो सुन बेचेको बताउने सोनु सुब्बा आफू गहनामा सौखिन नरहेको बताउँछिन्। यद्यपि उनीसँग पन्ध्र तोलाजति सुनका गहना चाहिँ छन्। प्रायः पार्टी र चाडबाडमा लगाउँछिन्। उनीसँगै विगत चार वर्षदेखि काम गरिरहेकी सम्झना राईलाई पनि सुनको त्यति चाह छैन। तर उनीसँग पनि केही तोला सुन छ, जसलाई उनी सेफ बक्समा राख्छिन्।

सोनु भन्छिन्, ‘एकै जनाले ८० हजारसम्मको गहना किन्छन्, त्यो उनीहरुको तजबिजको कुरा हो।’

तर नमस्ते ज्वेलरीकी मेनुका भने ग्राहकहरुलाई सुन जोगाउन सचेत गराउँछिन्। उनी भन्छिन्, ‘खाइनखाइ जोगाएर किनेको सुनको हिफाजत गर्न जरुरी छ, हामी सानो कुराको लोभले ठूलो क्षति बेहोर्छौ। बैंकमा सेफ बक्स नपाए २–३ हजारमा घरमै राख्न सकिन्छ। त्यस्तो बक्समा महत्वपूर्ण कागजात पनि राख्न सकिन्छ। फायर प्रुफ हुने हुँदा आगलागीबाट पनि केही हुँदैन। त्यस्तो साधन प्रयोग गर्न सके सुरक्षित हुन सक्छ।’

नमस्ते ज्वेलरीकी मेनुका राई

हङकङका नेपालीबीच सुन संस्कृतिकै बारेमा कुरा गर्दा पोखराकी पिना गुरुङ सांस्कृतिक प्रभावका कारण आफूले सुन किनेको बताउँछिन्।

‘सांस्कृतिक प्रभावले पनि सुन किन्न बाध्य बनेका छौँ। हाम्रो जातको त हमेल (घाँटीमा लगाउने गहना) कमाउनै दश टेल जति लाग्छ,’ उनी भन्छिन्।

हङकङका नेपालीबीच सुन किन्ने नजानिँदो प्रतिस्पर्धा रहेको उनको भनाइ छ। उनी पनि सुरक्षाका लागि सुन सेफ बक्समै राख्न सुझाव दिन्छिन्।

त्यसो त नेपाल सुनसरी तरहराकी मिरा कार्कीसँग ३० तोला भन्दा बढी नै सुन छ। लिम्बु संस्कृतिमा प्रचलित सुनका गहना छन् उनीसँग।

‘क्षेत्री भएपनि लिम्बुसँग लगनगाँठो कसेपछि जात अनुसारको गहना लाउनै पर्‍यो,’ उनी भन्छिन्, ‘कन्ठ, शिरबन्दी, चेप्टे सुन आदि जोड्दा निकै हुँदोरहेछ।’

‘नेपालखबरमा सुन चोरीको खबर पढेपछि सुन हराउला भनेर निद्रै लागेन, तर अहिले सुरक्षाको व्यवस्था मिलाइसकेको छु,’ कार्कीले थपिन्।

पावन सप समेत चलाइरहेका व्यवसायी राजेन्द्र थापा आफूले चिने जानेकालाई सुनमा लगानी गर्न सल्लाह नदिने गरेको बताउँछन्।

‘म कसैलाई पनि सुन किन्ने सल्लाह दिन्नँ, सुनमा बढी जोखिम छ। चोरी हुने, हराउने, बजार भाउ खस्कनेजस्ता जोखिमका कारण सुनमा लगानी गर्नु बुद्धिमता होइन,’ उनले भने, ‘बरु हङकङकै नेपाल फाइनान्स, काष्ठमण्डप फाइनान्स, आदिमा बचत गरे आकर्षक ब्याज पनि पाइन्छ।’

थापाले पनि आफ्नो पावन सपले सेफ बक्सको व्यवस्था गर्न लागेको योजना सुनाए।

किराती समुदायमा जातीय भेषभुषाको रुपमा सुनको गहना अत्यधिक प्रयोग गर्ने चलन छ। तर भर्खरै सम्पन्न मिसेस हङकङ नेपालकी विजेता पविता राईले सुनमा आफूलाई सौख नभएको बताइन्। जातीय पहिचानका लागि लागिपरिरहेकी उनले किन सुन लगाउन मरिहत्ते नगरेकी हुन् त?

‘धेरै तडकभडक नगरी सामान्य रुपमा लगाउँदा भैहाल्छ नि’, उनले प्रश्न गरिन्, ‘फेरि भारी सुन लगाउँदैमा संस्कृति जोगिने पनि होइन। यहाँ त एक किसिमको प्रतिस्पर्धा रहेछ महिलाहरु बीच। एक पार्टीमा जाँदा लगाएको सुन अर्को पार्टीमा जाँदा फेरेर जानेहरु पनि देखिए।’

एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङले पनि सुनमा आफ्नो लगाव नरहेको बताइन्। तर महिलाहरुमा रहेको सुन मोहलाई उनी अन्यथा ठान्दिनन्। सुन चोरी हुनुमा धेरै कारण रहेको उनको भनाइ छ।

‘प्रथम त हाम्रो आवादी क्षेत्रका घरहरु पुराना छन् जहाँ सेक्युरिटीको ब्याबस्था व्यवस्था छैन,’ उनले भनिन्, ‘ढोकाहरु पनि कमजोर छन्, जसले गर्दा चोरहरुले मौका पाउँछन्। सकिन्छ भने सिँढी चढ्ने मुख्य ढोका सँधै बन्द गर्नु पर्दछ। एकै छिन त हो भन्दै ढोका खुल्ला राख्यो भने चोरले मौका पाउन सक्छ। काममा आउँदाजाँदा सिँढीमा चनाखो भएर हिँड्नु पर्छ। गहना सकभर सेफ बक्समा राख्नुपर्छ।’

पविता राई

पविता राई

हङकङ नेपाली महासंघकी रिता गरुङ सुन लगाएर सम्पन्नता झल्काउने प्रवृत्तिको विरोध गर्छिन। सांस्कृतिक परम्परा धान्ने नाममा गरिने सुनको होडबाजीलाई उनी विकृति मान्छिन्।

‘यहाँका चिनियाँ महिला सुन लगाउँदैनन्, हामी भने सम्पन्नता देखाउन, अरु भन्दा राम्री देखिन, सुन थुपार्न थाल्छौँ। कतिको त सुन किन्ने एडिक्सन नै छ,’ उनी भन्छिन्, ‘खाइनखाइ सुन किन्छ्न् अनि चोरी भएपछि चिन्तामा डुब्छन्। सुन किन्नु भन्दा पहिले नै त्यसको सुरक्षाको लागि व्यवस्था गर्नुपर्छ।’

उनले चोरीबाट सुरक्षाका लागि जनचेतना जगाउन आफूहरुले डिस्ट्रिक पुलिस सेमिनारहरुमा कुरा उठाउने गरेको पनि बताइन्।

संसारकै सुरक्षित सहर मानिएको हङकङमा गत वर्ष १८७२ चोरीका घटना भएको तथ्यांकले देखाएको छ। सुनलाई सम्पन्नताको मानक मानिने, सांस्कृतिक भेषभुषामा गहनाको रुपमा प्रयोग गरिने अनि ‘सुखको बेला सजाना, दुखको बेला खजाना’ भनेझैँ चाहिएको बेला तुरुन्तै बेचेर गर्जो टार्न सकिने हुनाले पनि नेपालीहरु सुन प्रति लोभिएका हुन्।

तर यसरी जोडिएको सुनको सुरक्षामा भने हेलचेक्र्याइँ गरिनु मूर्खता हुनजान्छ। कहिलेकाहीँ सुनकै कारण ज्यान पनि जान सक्छ। हामी बसेको घरको भैतिक संरचना र सुरक्षा दृष्टिले कमजोर हुनाले सकेसम्म बैंकमा सेफबक्स लिने, त्यो सम्भव नभए घरमै २–४ हजारको सेफ बक्स किनेर राखे ढुक्क हुन सकिन्छ।