मगेन्द्र राई हङकङ, जेठ ११


‘म महिलावादी पनि हुँ, सुगारिका केसी भनेरै मेरो परिचय बनेको छ। म जुन कूलमा जन्मिएँ, त्यसैमा मर्ने ईच्छा छ। पतिको कूल त छोराले बोकिहाल्छ नि।’

सन् १९८६ मा ललितपुरको धापाखेलमा जन्मिएकी पूर्व मिस नेपाल सुगारिका केसीले छ महिनाको उमेरमै बाबु गुमाइन्। क्यान्सरका कारण बाबु सुदर्शन केसी बितेपछि उनकी आमाले नै उनलाई बाबु–आमा दुवैको माया दिइन्।

सुगारिकाले बाबुको काख त पाइनन्, तरपनि आमा गमला केसीले सुगारिकालाई बाबुको अभाव कहिल्यै महसुस हुन दिइनन्।

आफ्नी आमाप्रति गर्व गर्ने सुगारिका बाबु र आमाको सुरुको एक–एक अक्षरबाट आफ्नो नाम जुरेको बताउँछिन्। आफुलाई हुर्काउन, बढाउनकै लागि पुनः विवाह नगरेकी आमाको त्याग र बलिदानको सुगारिका उच्च सम्मान गर्छिन्।

आमाको त्यागप्रति भावुक हुँदै उनले हङकङमा भनिन्, ‘यो धर्तीकै सर्वश्रेष्ठ महिला हुन्, मेरी आमा गमला केसी।’

‘एकल महिला बनेर दुःख र पीडाको सागरमा डुबे पनि आमाले मेरै खातिर पुनः विवाह नगरी मलाई जीवनको यो सुन्दर मोडसम्म ल्याइपुर्‍याउनु भयो,’ उनी भन्छिन्, ‘आमाले बाबुको कुनै अभाव खट्किन दिनुभएन।’

सुगारिकालाई बाबुको कुनै सम्झना छैन। तर आफ्नो चालढाल, आनीबानी र शारीरिक बनोट समेत ठ्याक्कै बाबुसँग मिल्ने उनलाई सुनाइन्छ। उनले आफैँ आमा बनेपछि बाबुको महत्व झन् बढी थाहा पाइन्।

टीका गुरुङ र कविता गुरुङको साथमा सुगारिका हङकङमा

टीका गुरुङ र कविता गुरुङको साथमा सुगारिका हङकङमा

‘जब म आफैँ आमा बनेँ, छोरोले बाबुप्रति देखाएको आशक्तिपूर्ण व्यवहार देखेँ, तब मात्रै मैले जीवनको कति ठूलो हिस्सा गुमाएको रहेछु भन्ने थाहा पाएँ,’ उनले भनिन्, ‘मेरो जीवनको एउटा पाटो त रित्तो पो रहेछ।’

यद्यपि उनलाई आफ्नो जीवनप्रति कुनै गुनासो छैन।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी सुगारिका आफूलाई मनोरञ्जन, ग्ल्यामर्स र अभिनयको रुची कहिल्यै नभएको बताउँछिन्। उनलाई त रेडियोसँग मोह थियो।

‘जीवनको मेरो पहिलो प्रेम रेडियोसँग थियो। रेडियो जक्की बन्ने सपना थियो,’ उनी भन्छिन्।

यसैकारण उनले आरजेको तालिम लिइन् र केही एफएमहरुमा काम पनि गरिन्।

अन्ततः आफ्ना साथी, शिक्षक र आमाको सल्लाहबमोजिम उनले सन् २००५ को मिस नेपालमा भाग लिइन् र त्यसको ताज पनि पहिरिन्।

‘मेरो जितले मिस नेपालको इतिहासमै सर्वाधिक विवाद सिर्जना गर्‍यो,’ उनले आफू मिस नेपाल बन्दाको क्षण सम्झिइन्, ‘मेरो समर्थन र विरोधको स्पष्ट दुई कित्तामा जनमत बाँडियो। त्यसबेला मेरो विपक्षमा बोल्नेहरुको मैले के बिगार्देकी छु र यसरी आलोचना गर्छन् भनेजस्तो लाग्थ्यो।’

यही विवादका कारण तीन महिनासम्म आफूले मानसिक तनाव झेल्नुपरेको उनको भनाइ छ।

‘तर एक बिहान मलाई यो सब कुरा बेकार लाग्यो। अचानक मेरो सोचमा परिवर्तन आयो, आखिर म हरेकलाई खुसी पार्न जन्मेको होइन नि’, उनी भन्छिन्, ‘मेरो पनि आफ्नै रोजाई छ्न्, मन पर्ने–नपर्ने कुराहरु छन्, त्यसैले यस्तो नकारात्मक कुराहरुलाई मनमा हावी हुन दिन्नँ।’

त्यसपछि उनले मनको गाँठो अझ मजबुत बनाइन्।

‘मिस नेपालले ममा नकारात्मक धारणासँग जुध्ने क्षमताको विकास गरायो। थप जागरुक बनायो। मैले राम्रो काम गर्नुपर्छ भन्ने जिम्मेवारी बोध पनि गरायो’, उनी थप्छिन्, ‘साथै व्यक्तिगत, व्यवसायिक र सामाजिक अभियानमा आफूले जानेको सुनेको कुरा अरुलाई पनि बाँड्नु पर्छ भन्ने भावनाको विकास गरायो।’

केही वर्षअघिसम्म मिस नेपाल प्रतियोगिताको राजनीतिक वृत्तबाटै विरोध हुन्थ्यो। एक वर्ष त प्रतियोगितै रोकिएको थियो। विरोध गर्नेहरुको मत छ, सुन्दरी प्रतियोगिताले महिलालाई वस्तु बनाउँछ। तर सुगारिका यसमा सहमत छैनन्।

‘साम्यवादी मुलुक चीनमा समेत अनेकौं पटक सुन्दरी प्रतियोगिता भइसकेको छ,’ उनी भन्छिन्, ‘यो प्रतियोगिता शारीरिक सुन्दरताको लागि मात्र होइन। यो त सुन्दरतासँगै बौद्धिक प्रतियोगिता हो। यसले प्रतियोगीहरुलाई एक स्त्रीबाट एक असल र जागरुक महिला बनाउँदछ। आफू, परिवार, छरछिमेक, टोल र समाजलाई नै रुपान्तरण गर्न मद्दत गर्दछ। महिला सशक्तिकरणमा यसले प्रभावकारी भूमिका खेल्छ।’

सुगारिका मिस नेपाल भएको १३ वर्ष बितिसकेको छ। यसबीचमा उनको दिनचर्या अझ व्यस्त बन्न थालेको छ। उनी वातावरण तथा वन्यजन्तु संरक्षण, एचआइभी, दाइजो, कृषि, प्रविधिलगायतका क्षेत्रमा सक्रिया छिन्। उनी जहाँसुकै पुगेर पनि आफ्नो अनुभव र ज्ञान बाँड्न चुक्दिनन्। विभिन्न कार्यक्रमहरुमा पुगेर प्रेरणादायी मन्तव्य राख्छिन्।

मिस नेपाल भएकाहरुलाई विवाह र अझ बच्चा जन्मेपछि दबाब पनि बढ्ने उनको अनुभव छ।

‘विवाहपछि जिम्मेवारी बढ्छ। के गर्ने के नगर्ने भन्ने निर्णय लिन गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘कतिपय स्टेज शोमा दर्शकदीर्घाबाट बच्चा रोएको आवाज आउँदा पनि आफ्नो बच्चाको यादले सम्हालिन गाह्रो हुन्थ्यो।’

‘उपाधि पाएपछि जिम्मेवारी पनि लिनुपर्छ, मिस नेपालबाट धेरैले अपेक्षा गरेका हुन्छन्, त्यसैले विवाह र सन्तानसँगै करिअरलाई पनि अगाडि बढाउनुपर्ने दबाब हुन्छ’, उनी भन्छिन्।

सुगारिका केसीसुगारिका केसी अचेल सुगारिका जमाना बदलिसक्यो भनेको सुन्छिन्। यद्यपि बदलिएको जमानासँगै हाम्रो मनोवृत्ति विकसित हुन नसकेको उनको ठम्याइ छ। छोरा र छोरीबीच जरा गाडेर बसेको भेदभावबाट पनि उनी दुःखी छिन्।

‘एक दिन पतिले चलाउने गाडीको सिटमा बसिरहेकी थिएँ,’ उनले आफ्नो एउटा अनुभव सुनाइन्, ‘त्यो देखेर हाम्रो पाँच वर्षको छोरो सनातनले सोध्यो, ‘मामु, केटीहरुले पनि गाडी चलाउँछन् र?’

त्यो सुनेपछि सुगारिकालाई नरमाइलो लाग्यो। भन्छिन्, ‘हामीले छोरालाई महिलाले पनि गाडी चलाउन हुन्छ र सक्छन् तथा पुरुषले पनि भान्साको काम गर्न हुन्छ र सक्छन् भन्ने शिक्षा दिएकै रहेनछौं।’

सनत न्यौपानेसँग विवाह गरेकी सुगारिका आफ्नो नामको पछाडि केसी नै जोड्न रुचाउँछिन्। यसलाई उनी आफ्नो व्यक्तिगत रुची भन्छिन्।

‘यो व्यक्तिगत रोजाइको कुरा हो। म महिलावादी पनि हुँ, सुगारिका केसी भनेरै मेरो परिचय बनेको छ। म जुन कूलमा जन्मिएँ, त्यसैमा मर्ने ईच्छा छ। पतिको कूल त छोराले बोकिहाल्छ नि’, उनी भन्छिन्, ‘फेरि म त आफ्नो आमाबाबुको एक्लो सन्तान हुँ, परिवारको उत्तराधिकार मैले लिइनँ भने कसले लिन्छ? म जन्मिँदा पनि केसी थिएँ र मर्दा पनि केसी नै भएर मर्नेछु।’

एक साता अघि मात्र सम्पन्न भएको प्रथम मिसेस हङकङ नेपालको प्रमुख कोरियोग्राफरको जिम्मेवारी सुगारिकाले वहन गरेकी थिइन्। प्रतियोगितापछि उनी नेपाल फर्किसकेकी छन्। यो उनको तेस्रो हङकङ भ्रमण थियो। यसपटकको हङकङ बसाइमा उनले सबै तह र तप्काका नेपालीहरुसँग साक्षात्कार गर्ने मौका पाइन्।

‘देश छोडेर आए पनि देशप्रतिको अगाध माया हङकङेली नेपालीहरुमा देखियो,’ उनले यहाँको नेपाली समुदायले आफूलाई पारेको प्रभाव सुनाइन्, ‘परेको बेला सोचे भन्दा धेरै सहयोग जुटाउने पनि रहेछन्, विभिन्न पेसामा आबद्ध भएर नेपाली भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्द्धन गरिरहेको देख्दा नेपाल बाहिर अर्को नेपाल बनिरहेको जस्तो लाग्यो।’

कतिपय मिस नेपाल देश छोडेर अन्यत्रै स्थानान्तरण भएका छ्न्। तर उनलाई भने विदेश पलायन हुन पटक्कै मन छैन। भन्छिन्, ‘मानिसको आ–आफ्नै प्राथमिकता हुन्छन्, बाध्यताहरु होलान, ४० प्रतिशत युवा विदेश जानैपर्ने अवस्थामा विदेशिनुलाई नराम्रो भन्न पनि मिल्दैन। तर मेरो हकमा भने म देश छाडेर जाने कल्पनासम्म पनि गर्न सक्दिनँ।’

उनले त्यसको कारण पनि दिइन्। ‘पहिलो कुरा त म मेरी आमाको अत्यन्तै ऋणी छु, म आमालाई एक्लै छोडेर जानै सक्दिनँ। दोस्रो, नेपाल र नेपालीहरुले दिएको यो उपाधि र सम्मान चटक्कै छाडेर जान सक्दिनँ र तेस्रो, नेपालमा नै मेरा लागि प्रशस्त सम्भावनाहरु छन्। त्यसैले देश छोडेर कहीँ जान्नँ, जुन देशमा जन्मिएँ, त्यसैका लागि मर्नेछु।’