बाल्टिमोर, नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधान तथा गृहमंत्री विमलेन्द्र निधि भोली सोमवार वासिंगटन डिसी जानु  हुने भएको छ | दुई दिनको छोटो पारिवारिक भ्रमणका क्रममा उपसभापति निधि वासिंगटन डिसी जान  लाग्नु भएको हो | मंगलवार बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयमा हुने आफ्ना छोराको ग्र्याजुयेशन समारोहमा सहभागी हुन निधि सपत्नी अमेरिका आउन लाग्नु भएको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति,अमेरिकाका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ | ‘ यो हाम्रा पार्टी उपसभापति निधिको नितान्त पारिवारिक भ्रमण हो,यो भ्रमणका दौरान उहाँले भर्जिनिया र बाल्टिमोरमा कांग्रेस कार्यकर्ता र नेपाली समुदायलाई सम्बोधन समेत गर्नु हुनेछ’ विष्टले भन्नुभयो |
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापतिमा मनोनित गरेपछि निधिको यो पहिलो विदेश भ्रमण हो | पूर्व उपप्रधान र गृहमंत्री समेत रहनु भएका निधि सोमवार अपरान्ह करीब तीन बजे आइएडी आन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु हुनेछ | नेपाली जनसम्पर्क समितिले आफ्ना पार्टीका उपसभापतिको स्वागतका लागि विमानस्थलमा उपस्थित हुन आफ्ना सदस्य र शुभेच्छुकहरुलाई अनुरोध गरेको छ | ‘हामी उपसभापति निधिको स्वागतका लागि विमानस्थलमा जानेछौं भने सोमवार साँझ नै भर्जिनियामा नेता निधिको सम्मानमा कार्यकर्ता भेटघाटको कार्यक्रम राखेका छौं’ जनसम्पर्क समितिका उपसभापति केशब बरालले भन्नुभयो | यसैगरी मंगलवार साँझ बाल्टिमोरमा नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टरको आयोजनामा नेता निधिको सम्मानमा एक स्वागत कार्यक्रम गर्न लागिएको छ | च्याप्टर सभापति राज सेन्चुरीका अनुसार,यो कार्यक्रममा नेता निधिले नेपालको समसामयिक राजनीति,नेपाली कांग्रेसको भूमिका र अन्य विषयमा नेपाली समुदायलाई सम्बोधन गर्नु हुनेछ |’ सेन्चुरीले बाल्टिमोरमा हुन लागेको कार्यक्रममा सहभागिताका लागि समुदायका सबै सदस्यहरुलाई अनुरोध गरेका छन् |