काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी ‘पुनर्गठन’को पहिलो दिन शुक्रबार बधाई ज्ञापन,खुसी साटासाट र कार्यालय घुमफिरमा बितेको छ । ६ बुँदे घोषणापत्र जारी गर्दै ३ जेठमा एकता घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मिलनबाट बनेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहितका नेताले धुमबाराहीस्थित तत्कालीन एमाले पार्टी मुख्यालय र पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयसमेत अवलोकन गरे ।

प्रधानमन्त्री ओली पहिलोपटक पेरिसडाँडा प्रवेश गरे भने दाहाल पनि पहिलोचोटि धुम्बाराही पुगे । नेताहरूले शुक्रबार एकअर्काको पार्टी केन्द्रीय कार्यालय अवलोकन गरेका थिए । दुवै कार्यालयमा एउटा टेबलमा दुई कुर्सी राखेर अध्यक्षद्वयको स्वागत गरिएको थियो ।

कार्यालय अवलोकनपछि आयोजित कार्यक्रममा ओलीले आफूहरूले नयाँ अठोट र नयाँ संकल्प गरेको भन्दै देशले सुम्पिएको अभिभारा दृढता र एकताका साथ पूरा गर्ने प्रतिबद्धता जनाए । उनले एकता देश र जनताप्रति समर्पित गरेर भएको पनि उल्लेख गरे । उनले भने, ‘एकता गर्दा देश, जनता, परिवर्तनका मूल्य मान्यता, आदर्श सामाजिक सद्भावलाई बिर्सेर र कुनै अनैतिक सम्झौता गरेर भएको होइन,’ उनले भने, ‘यो देश र जनताप्रति समर्पित रहेर भएको हो ।’ उनले एकता अमर र उपलब्धिमूलक रहने बताए ।कार्यक्रममा अध्यक्ष दाहालले नयाँ इतिहासको सुरुवात भएको घोषणा गरे । उनले एकता अहिले विज्ञानको गतिभन्दा अघि बढ्ने बताए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।