एजेन्सी, संयुक्त अधिराज्य बेलायतका राजकुमार ह्यारी वैवाहिक बन्धनमा बाँधिएका छन् । राजकुमार ह्यारी दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका पूर्व अभिनेत्री सेलिब्रेटी मेगन मार्कलसंग आज औपचारिक रुपमा विवाह बन्धनमा बाँधिएका हुन् । बेलायतको सेन्ट जर्ज च्यापलमा क्रिश्चियन धर्मगुरुले राजकुमार ह्यारी र राजकुमारी बनेकी मेगनको विवाहको शाही घारानाको विधिवत प्रक्रिया पुरा गरेका थिए । सोही क्रममा परम्परा अनुसार औंठी साटासाट गरेपछि उनीहरुको औपचारिक वैवाहिक कार्यक्रम सम्पन्न भएको थियो ।
विवाह समारोहलाई विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए भने चर्चका धर्मगुरुका अनुसार विवाह समारोहमा छ सय पाहुना प्रत्यक्ष सहभागी थिए । यसैगरी विवाह समारोह र नव विवाहित दम्पतिलाई स्वागत गर्न बेलायतमा करीब एक लाख मानिसहरु सडकमा पंक्तिवद्ध भएर खुशी साटासाट गरिरहेका थिए । ३३ वर्षीय राजकुमार ह्यारीले राजकुमारीको रुपमा भित्र्याएका ३६ वर्षीया मेगन अफ्रिकी-अमेरिकन मूलकी युवती हुन् । बेलायतको शाही दरवार भित्रिने अफ्रिकी-अमेरिकी मूलकी मेगान पहिलो युवती हुन् र उनको यो दोश्रो विवाह हो । यो विवाहलाई एउटा ऐतिहासिक घटनाको रूपमा चर्चा गरिएको छ । 
विवाह समारोहमा महारानी एलिजावेथ द्वितीया,युवराज चार्ल्स,राजकुमार ह्यारीका दाजु विलियम, राजकुमारी बनेकी मेगनकी आमासहित विशिष्ट अतिथिहरुमा सेलिब्रेटी र राज परिवारका आमन्त्रित पाहुनाहरु थिए । मेगनका ७३ वर्षीय पिता स्वास्थ्यका कारण समारोहमा सहभागी हुन सकेनन् । विवाह समारोह सकिएपछि शाही जोडी बग्घीमा चढेर सर्वसाधारण जनताको स्वागत ग्रहण गर्न निस्किएका थिए । आफ्नो नातिको विवाह लगत्तै महारानी एलिजावेथले राजकुमार ह्यारीलाई ड्युक अफ ससेक्सको उपाधि प्रदान गरेकी छिन् । राजकुमारलाई दिईएको यो उपाधिसंगै नवविवाहित राजकुमारी मार्केल डचेज अफ ससेक्स बनेको बकिङ्घम दरवारले जनाएको छ । बकिङ्घम दरवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, महारानीद्वारा राजकुमार ह्यारीलाई ड्युक अफ सक्सेस,अर्ल अफ डम्बाटन र बेरोन किलकीलको उपाधि  प्रदान गरिबक्सेको घोषणा गर्दछौं ।’ राजकुमार ह्यारी बेलायती राजगद्दीमा बस्ने छैठौं नम्वरमा छन् ।यो वैवाहिक समारोहलाई विश्वभर करिब ३ अर्ब मानिसले अवलोकन गरेको बेलायती सञ्चार माध्यमले आँकलन गरेका छन्।