काठमाडौं -आमा पूजाकोठाको ढोकामा ठेस लागी लडेर घाइते हुनुभयो। उहाँको उपचारका लागि काठमाडौंबाट धुलिखेल अस्पताल ल्याइयो। जब आमाले उपचार पाउनुभयो र उहाँले भन्नुभयो– ‘म पूजा गर्न जाँदा लडेर घाइते भएँ, मैले खोजेका भगवान् त यहाँ पो रहेछन्।’ डाक्टर र नर्सलाई औंल्याउँदै उहाँले भन्नुभयो– ‘भगवान् त यही अस्पतालका डाक्टर र नर्स रहेछन्।’ एकैछिन अघिसम्म पीडाले छटपटाइरहनुभएकी आमाको मुखबाट अकस्मात् यो शब्द उच्चारण हुँदा आफूलाई आफ्नो पेसाप्रति निकै गर्व लाग्यो।

भगवती तिमल्सिना

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजुले प्रमाणपत्र तहका दीक्षित ३८ जना नर्सलाई प्रमाणपत्र प्रदान गर्दै भन्नुभयो– ‘बिरामीका सबभन्दा नजिकका आफन्त भनेकै नर्स हुन्। उनीहरूले बिरामीका दुःख–सुखका कुरा सुनेर अनन्य मित्र बनी शारीरिक र मानसिक रोगको उपचार गर्नुपर्छ।

नर्सको जिम्मेवारी स्वास्थ्य संस्थामा अत्यन्तै महत्त्वपूर्ण हुन्छ र समयअनुसार आवश्यक तालिम, शिक्षाको ज्ञान दिन व्यवस्थापन पक्ष सदैव चनाखो हुनुपर्छ।’
स्वास्थ्य विज्ञानका दृष्टिकोणले नर्स र बिरामीको सम्बन्ध आमा र बच्चाको जस्तो हुनुपर्छ। बिरामी सानासाना बच्चा हुन् भन्ने सम्झेर डाक्टर र नर्सले हरेक विषयमा पहिला बिरामीलाई बुझाउने र उपचार तथा रेखदेख गर्ने गर्नुपर्दछ। धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजु भन्नुहुन्छ– ‘नर्सको प्रमुख काम भनेकै बिरामीको राम्रोसँग हेरविचार गर्ने हो। दोस्रोमा सिक्ने, अनुसन्धान गर्ने, थप अध्ययन अध्यापन गर्ने पाटो निकै महत्त्वका साथ हेरिनुपर्छ।’

अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजना गरिएको काठमाडांै विश्वविद्यालय धुलिखेल अस्पतालमा सञ्चालित प्रमाणपत्र तहको १७औं दीक्षान्त समारोहका अवसरमा बोल्दै काठमाडांै विश्वविद्यालय मेडिकल विभागका डीन प्राडा राजेन्द्र कोजुले भन्नुभयो– ‘पहिलो प्राथमिकता बिरामीको उत्कृष्ट सेवा र व्यवस्थापन नै हो। नर्सको प्रमाणपत्रलाई मात्र मूल्यांकन गरिन्न, बिरामीप्रति गरिने व्यवहार परिपक्व हुनुपर्छ।’,यो खबर आजको नेपाल समाचारपत्रमा छ ।