बझाङ बैशाख ३१


बझाङको सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सा संकलन गर्न खुला गरेपछि जिल्लाका दर्जनौं विद्यालय बन्द भएका छन्।

यसअघि समितिले वैशाख १६ गते यार्सागुम्बा संकलनमा रोक लगाएको थियो। तर वैशाखको अन्तिममा खुला गरेपछि विद्यार्थी समेत पढाइ छाडेर यार्सा संकलन गर्न गएका हुन्।

यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्न सक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नु परेको दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए।

उनले भने, ‘यो हाम्रो यार्सा टिप्ने समयमा तीन महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता हुन्छ किनकि यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको तीन महिनाको यार्सागुम्बा संकलन मात्र हो।’ यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो।

उक्त रोक आइतबारदेखि खुला भएपछि यहाँका बासिन्दा फेरि पोकापन्तुरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन्। यस क्षेत्रमा यार्सा संकलन गर्न सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका बासिन्दा यार्सा संकलन गर्न जान्छन्।