काठमाडौं बैशाख २९


जोस बटलर

जोस बटलर
 जोस बटलरले आफ्नो करिअरको सर्वाधिक टी–२० स्कोर बनाएको खेलमा चेन्नाई सुपरकिंग्स माथि एक बल रहँदा ४ विकेटको जित निकाल्दै राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग(आइपीएल)को प्लेअफ सम्भावना कायमै राखेको छ।

जितसँगै ११ खेलबाट १० अंक जोडेर राजस्थान छैटौं स्थानमा उक्लिएको छ। चौथोस्थानको मुम्बई इण्डियन्सर पाँचौ स्थानको कोलकत्ता नाइट राइडर्ससँग बराबरी अंक भएपछि रनरेटका आधार राजस्थान छैटौं स्थान छ। अब लिग चरणका तीन खेल खेल्न बाँकी छ। हारपछि चेन्नईले प्लेअफमा पुग्न अर्को खेल कुर्नु पर्ने भएको छ। दोस्रो स्थानको चेन्नईको ११ खेलबाट १४ अंक छ।

शुक्रबार भएको खेलमा बटलरले नटआउट ९५ रनको पारी खेलेपछि चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य राजस्थानले १ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गरेको थियो।

राजस्थानका ओपनर जोस बटलरले ६० बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए। जुन बटलरको करिअरको सर्वाधिक टी–२० स्कोर पनि हो। यसअघि उनले टी–२० मा सर्वाधिक स्कोर ८२ रन थियो।

यससिजनको आइपीएलमा उनले ११ खेलमा ४ सय १५ रन जोडिसकेका छन्। यसमा उनका ४ अर्धशतक पनि सामेल छन्। चेन्नईविरुद्ध अन्तिम ओभरमा उनले जितका लागि चाहिएको १२ रन उनले जोडेका थिए।

राजस्थानका अन्य ब्याट्सम्यानहरुमा वेन स्टोक्स ११, अजिन्का राहाणे ४, सन्जु सामसनले २१, र स्टुवार्ड विनीले २२ रन जोडेका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो। चेन्नईका लागि सुरेश रैनाले ५२, महेन्द्रसिंह धोनीले ३३,साम विलिङ्ग्सले २७ रन जोडेका थिए।