काठमाडौँ बैशाख २४-प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र जातिका नाममा आतंक मच्चाउनेलाई नछाड्ने बताएका छन्। उनले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेविरुद्ध सरकारले कडा कारबाही गर्ने बताएका छन्।सोमबार सिंहदरमारमा राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार राष्ट्र निर्माणको महा अभियानमा लागेको बताए। उनले सरकारको यो अभियानलाई अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर नबस्ने बताए। उनले भने, ‘सरकार राष्ट्र निर्माणको महाअभियानमा लागेको छ, यस्तो बेला अबरोध गर्न खोज्नेहरुमाथि कडा कारबाही हुन्छ।’राष्ट्र निर्माणमा अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सजग हुनु पर्ने उनको भनाइ थियो।

केही व्यक्ति र संस्थाहरुले अहिले पनि विखण्डनको कुरा गरिरहेको भन्दै उनले देश विाकास र समृद्धिको मार्गमा अगाडि बढ्ने र भौगोलिक रुपमा पनि अखण्ड नै रहने दावी गरे। ‘अव प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो’उनले भने, ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं।’

प्रधानमन्त्री ओलीले विगतको युद्धकालीन समयमा र नाकाबन्दीमा राष्ट्रिय सुरक्षा परिषद्ले महत्वपूर्ण भूमिका निवार्ह गरेको बताए। उनले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै, भोग्दै र राष्ट्रहितको पक्षमा उभिँदै आएको बताए। ‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाईभित्रै देखि बलियो बनाउनु पर्दछ’, उनले भने, ‘भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुदैन।’