केही सातादेखि निरन्तर चर्चामा आइरहेको विषय थियो ३३ किलो सुन कान्ड। कसैले साढे ३३ किलोसम्म लेखेका थिए। चलनचल्तीमा भने ३३ किलो सुन काण्ड भनेरै चिनिन्थ्यो। तर जब आज सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गर्‍यो, तब पो थाहा भयो- केका ३३ किलो हुनु, यो त ३ हजार ८ सय किलो सुनको पो केस रहेछ।

दायर गरिएको अभियोग पत्रमा ३७ लाख ९९ हजार ५५९ ग्राम सुन चोरी निकासी पैठारीको अवैध कारोबार गरेको उल्लेख छ। तोलाको हिसाब गर्नेहरुलाई यो सुनलाई किलोमा गनेको सुन्दा नै अचम्म लाग्छ। यो त किलोमात्र हैन हजारौँ किलोको पो हिसाब रहेछ। ठ्याक्कै तोलामा हिसाब गर्दा ३ लाख २५ हजार ७५६ तोला हुन आउँछ। किलोको हिसाब गर्दा ठ्याक्कै ३ हजार ७९९ किलो ५५९ ग्राम। टनको हिसाब गर्दा ३.७९९ टन। आम्मामा। आजको भाउको हिसाब गर्दा १६ करोड अमेरिकी डलर। त्यसैले त बिगोवापत् नै १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको दावी गरिएको छ।

नेपालको दैनिक सुनको माग भनेको ६० किलोसम्म हो। त्यो हिसाबले मासिक १८०० किलो सुन भए पुग्छ। यो त ३८ सय किलो पो त। यो एक पटकमा आएको सुन त पक्कै हैन।

 बिहीबार आएको जानकारी अनुसार सन् २०१५ को जुलाईदेखि हालसम्म ५२१ पटक गरी सुन आएको रहेछ। विस्तृत विवरण) विदेशबाट एक केजी सुन ल्याएर बिक्री गर्दा तस्करहरुलाई ५ देखि ८ लाख रुपैयाँसम्म फाइदा हुने हिसाब छ। अब यसलाई ५ लाखकै मात्र हिसाब गर्ने हो भने पनि ३८ सय किलो सुनको फाइदा १.९ अर्ब रुपैयाँ हुन आउँछ। सिङ्गो काठमाडौँ महानगरपालिकाको बजेटै जम्मा १० अर्बको हो। अन्तर्राष्ट्रिय बजारमा यति सुन किन्दा नै १७ अर्ब पर्छ। अनि यति धेरै रकम त्यो जाबो गोरे भन्ने चुडामणि उप्रेतिको नाकमा मात्र गएर ठोकिन्छ होला त? को छ त यसको पछाडि? ठूला माछाहरु को हुन्? कि यो केस पनि अदालतमा प्रमाणित हुन नसक्ने गरी गरिएको हचुवा अनुसन्धानमा सीमित हुने हो?

यो हाइप्रोफाइल केसमा पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता भएको छ। यति धेरै प्रतिवादीहरु त बनाइयो। तर कसरी प्रमाणित गर्ने होला नि उनीहरुको अपराध? अभियोग लगाउँदैमा पुग्ने हैन। प्रमाण पनि दरिलो जुटाउनै पर्‍यो, हामी कहाँ त अदालतले दायाँ खुट्टाको साटो बायाँ खुट्टा भनेर सफाइ दिएको उदाहरण छँदैछ।

अघिल्लो पटक ३३ किलो सुन कान्डमा पनि हाइप्रोफाइल तानिने आशाका बीच नवराज सिलवाल नेतृत्वमा भएको अनुसन्धानले मुख्य नाइके ठहर गर्‍यो १२ वर्ष अगाडि कामदारका रुपमा दुबई गएका काभ्रेका हरिशरण खड्का जो आजसम्म पक्राउ पर्न सकेका छैनन्। अहिले अभियुक्त भएका केहीको त त्यतिबेला पनि अनुसन्धानमा कनेक्सन देखिएको हो। तर हाल सांसद भइसकेका सिलवालको ‘मन कमलो’ भइदियो। हाल यो कान्डमा फरार रहेका एसएसपी श्याम खत्री त उतिबेला पनि अदालतमा मुद्दा परी धरौटी तिरेर रिहा भएका हुन्।

 

गोरे को ?

यो सब प्रकरणका मुख्य अभियुक्तका रुपमा गोरेलाई उभ्याइएको छ। मोरङ उर्लाबारी नगरपालिका वडा नं. ७ पशुपति टोल स्थायी घर भएका चुडामणि उप्रेतीलाई गोरे र रुपेश नामले पनि चिनिन्छ। उनी स्थानीय तहका फुटबल खेलाडीसमेत हुन्। उनी मोरङ–११ फुटबल टिमका राम्रा खेलाडीमध्ये एक हुन्। तीन महिनाअघि उर्लाबारीमा भएको मेयर कप फुटबलमा उनी पनि एक मुख्य खेलाडी थिए। त्यस बखतसम्म उनी सुनको अवैध धन्धा चलाउँछन् भन्ने कसैले शङ्का गरेका थिएनन्। भारतीय आर्मी र खाडी देशको प्रहरीमा समेत काम गरिसकेको भनिन्छ उनलाई। दुबईमा हुँदादेखि उनले सुन तस्करीको काम थालेका थिए। अहिले उनी कता छन्, अत्तोपत्तो छैन।

सुन खै त?
ह्यात्तेरी, कस्तो प्रश्न सोध्नुभएको। यो सुन कहाँ छ भन्ने पत्ता लागेको भए न गोरेले सनम शाक्यलाई मार्थ्यो। न उनको शव व्यवस्थापन गर्न जाँदा प्रहरी आफै फँस्थे, न यत्रो बबाल हुन्थ्यो। सुन त कसले पच गरेर यहाँको वा विदेशको बजारमा बेचेर अहिलेसम्म त मान्छेको घाँटी, नाडीमा झुण्डिसक्यो होला।