सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव शुक्रबार बिहान नै देखि देशैभरि देखिएको छ । आज बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।

काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् । बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि हड्तालबारे पूर्वजानकारी नपाएका यात्रुहरु बसपार्कमै अलपत्र परेका छन् । बसबाट स्कूल कलेज जाने विद्यार्थीहरु पनि हड्तालले समस्यामा परेका छन् ।

सत्तारुढ वामपन्थीहरुकै नेतृत्व रहेको पश्चिम नेपाल र पृथ्वी यातायातले समेत आन्दोलनलाई निरन्तरता दिने पश्चिम नेपाल वस व्यवसायी समितका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताउँछन् ।

यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने सरकारको निर्णयविरुद्ध व्यवसायीहरुले बैसाख २१ (आज) देखि २७ गतेसम्म सेवा बन्द गरेर हड्तालसम्म गर्ने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाईमा भएको हड्ताललाई नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनले समेत साथ दिएका छन् ।

सरकारले यातायात व्यवसायीसँग घुँडा नटेक्ने बताउँदै आएको छ भने व्यवसायीहरु सरकारलाई घुँडा टेकाएरै छाड्ने बताउँदै आएका छन् । सरकार भर्सेस व्यवसायीको द्वन्द्वको मारमा जनता परेका छन्

पश्चिम नेपाल बस व्यवसायी संघले बैसाख २१ गते बिहान ४ बजेदेखि २२ गते बिहान ४ बजेसम्म बस नचलाउन आफ्ना सदस्यहरुलाई निर्देशन दिँदै चलाएमा सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । सत्तारुढ वामपन्थीहरुकै नेतृत्व रहेको पश्चिम नेपाल र पृथ्वी यातायातले विहीबार सरकारसंँग वार्ता गरे पनि सहमतिमा पुग्न नसकेकाले आन्दोलनलाई निरन्तरता दिइने पश्चिम नेपालका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए ।

सरकारले भने सेवा अवरुद्ध गर्ने सवारीसाधनको रुट परमिट नै खारेज गरिदिने चेतावनी दिइसकेको छ । अघिल्लो सातामात्रै मन्त्रिपरिषदले सार्जजनिक यातायातलाई अत्यावश्यक सेवा अन्तरगत राख्दै यातायात बन्द गर्न नपाइने निर्णय गरेको थियो । तर, यातायात व्यवसायीले सरकारलाई चुनौती दिँदै बन्दको आयोजना गरेका हुन् ।