यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले सिन्डिकेटवाला व्यवसायीको मनपरीलाई रोक्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका छन् । यातायात क्षेत्रमा केही व्यवसायीको मनपरी चलेकोले बाध्य भएर कारबाहीमा उत्रिनुपरेको भन्दै भट्टराईले सरकार घुुँडा टेक्ने पक्षमा नरहेको स्पष्ट बताए ।

‘सरकारले कसैको रोजीरोटी र व्यवसाय खोस्न लागेको होइन् । हामीले यातायातको क्षेत्रमा परिवर्तन ल्याउन खोजेका हौं ।’ उनले भने, ‘बर्षोंदेखि मनपरी गरी सिन्डिकेट लाद्दै आएका व्यवसायीहरुले परिवर्तन चाहेका छैनन् । तर सरकार मैदानमा उत्रिएपछि उत्रियो । हामी सिन्डिकेट र मनपरी शुन्यमा झारेरै छाड्नेछौं ।’ व्यवसायीले राज्यको नीति नियम र कानुनको परिपालना गर्नुपर्ने भएपनि त्यसको उल्लघंन गरेको विभागले जनाएको छ ।

आफ्ना २० बर्षभन्दा बढि पुराना सवारीलाई सरकारले बन्द गरिदिएको र सिन्डिकेट तोड्न लागेको र कम्पनी मोडलमा जानुपर्ने बाध्यकारी नियम लादेकोले आन्दोदलन गर्नुपरेको व्यवसायीहरु बताउँछन् । तर विभागले भने धराप र यात्रुमारा सवारी बन्द गरेरै छाड्ने र सिन्डिकेटको अन्त्य गर्ने अडान लिएको छ ।

सरकारले ग्यारेजमा थन्क्याउने गाडीको रुट पर्मिट खारेज गरिदिने चेतावनी दिँदा पनि यातायात व्यवसायीहरुले आफ्ना सवारी साधन ग्यारेजमा थन्क्याएका छन् । सरकारले यसअघि नै समिति खारेज गरेर सम्पुर्ण सवारीसाधन कम्पनीमार्फत सञ्चालन गर्नुपर्न भन्दै समिति नविकरण गर्न बन्द गरिसकेको छ ।