एनआइसी एसिया बैंक लिमिटेडले काठमाडौंको कीर्तिपुरस्थित भत्केपाटीमा छैटौँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सो शाखारहित बैंकिङ सेवाको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले उद्घाटन गरे ।

उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिका रूपमा गोविन्द अधिकारीलाई नियुक्त गरेको छ । बैंकले शाखारहित बैंकिङ सेवामार्फत विभिन्न ग्रामीण क्षेत्रका स्थानीयलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

यस्तो सेवाअन्तर्गत स्थानीय बासिन्दाले गाउँमै बैंकको स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसले ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा बैंकिङ बानीको विकास हुने बैंकले विश्वास लिएको छ ।

शाखारहित बैंकिङ सेवामार्फत स्थानीय बासिन्दाले खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज, टेलिफोन, मोबाइल, एडिएसएल, डिस होमलगायतको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहेर कर्जा कारोबार गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी, आफ्नो खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

एनआइसी एसियाले देशभर १ सय ९६ शाखा, १ सय ९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।