अग्निज्वाला  काठमाडौं बैशाख १८


सुरुङ मार्ग

सुरुङ मार्ग कोटेश्वर पूर्वको बढ्दो ट्राफिक जाम कम गर्न भक्तपुर–काभ्रे जोड्नेगरी सुरुङमार्ग निर्माण हुने भएको छ। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा यो सुरुङमार्गलाई समावेश गर्दैछ।सडक विभागको वैदेशिक शाखाका उपनिर्देशक सञ्जय श्रेष्ठका सूर्यविनाकय–धुलिखेल सुरुङमार्गका लागि जापान सरकारसँग ऋण सम्झौताको तयारी भइरहेको छ। उनकाअनुसार यही मे महिनामा सम्झौता भएर काम अघि बढ्नेछ।

गत मार्चमा जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को एउटा टोली नेपाल आएर सुरुङ मार्ग निर्माणबारे छलफल गरेको थियो। सो छलफलमा ऋण सम्झौता गरेर अघि बढ्ने निर्णय भएअनुसार सम्झौता हुन लागेको हो।

उनकाअनुसार जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १.५ किमी सुरुङ मार्ग निर्माण हुनेछ। सुरुङमार्गमा धुलिखेलतर्फबाट आउने र भक्तपुरतर्फबाट जाने दुई फरक फरक लेन हुनेछन्।

सुरुङमा भेन्टिलेटर र बत्तीको व्यवस्था गरिनेछ। चौबीसै घण्टा उज्यालो देखिन्छ रहने यो मार्ग अक्सिजन सुरक्षित हुनेछ। सिसी क्यामरा र अग्नि नियन्त्रक उपकरण सडकमै राखिने उनले जानकारी दिए। सुरुङमार्गसहित सो स्थानको १६ किलोमिटर सडक ८ लेनमा विस्तार गरिनेछ। सुरुङमार्ग र सडक विस्तार गरी कूल २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

२ वर्षअघि जापानकै सहयोगमा तीनकुने–सूर्यविनायक सडक ६ लेनमा विस्तार भएको थियो। हाल यो सडकमा दैनिक करिब ७ हजार गाडी गुड्छन्।

यसैगरी कोटेश्वर-भक्तपुरकाे अत्यधिक सवारी चापाललाई दृष्टिगत गर्दै तीनकुने–जडिबुटी अन्डरपास रोड निर्माण गर्ने तयारी भइरहेको छ। उपनिर्देशक श्रेष्ठकाअनुसार तीनकुनेस्थित मुनीभैरवबाट जडिबुटी हुँदै मनहरा खेला पारीसम्म अन्डरपास रोड निर्माणको अध्ययन भइरहेको हो।

यो सडक निर्माण गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी क्षेत्र प्रभावित हुने नहुने भन्ने अध्ययन भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सर्वे लाइट र सुरक्षालाई बाधा नपर्ने गरी सडक विस्तार गर्न सकिने जनाएको छ।

यो अन्डरपास सडक निर्माणमा पनि जापान सरकारले रुचि देखाएको श्रेष्ठले जानकारी दिए। ‘अहिले हामी अध्ययनकै क्रममा छौं। छिटै विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पारी निर्माण सुरु गर्छौं।’

यो वैकल्पिक मार्ग निर्माण भए अहिले कोटेश्वरमा हुने ट्राफिक जाम घट्नेछ।