धनगढी। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिँडेर अधिनायकवाद लाद्न खोजिए कांग्रेस सडकमा ओर्लन बाध्य हुने चेतावनी दिएका छन्।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूूर्वप्रधानमन्त्री देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताए।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापले उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैले देखिसकेको देउवाको कथन छ।

‘विगतमा आफ्नो भ्रमणका क्रममा धनगढीको गौरीफण्टा नाका खोल्न, डडेलधुराको परशुराममा पुल निर्माण गर्ने, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण हुने जस्ता राष्ट्रहितमा कुरा भए पनि अहिले ती सबै विषय ओझेलमा पार्ने गरी काम भएको छ ,’ उनले भने।

चुनावमा पार्टी पराजयका बारेमा सोधिएको एक प्रश्नको जवाफमा सभापति देउवाले पराजयपछि कार्यकर्ताको मनोबल नखस्किएको दाबी गर्दै दुई पार्टी एक भएर चुनाव लडेको र पार्टी्भित्रै अन्तरघात भएकाले चुनावी नतिजा सोचेअनुसार आउन नसकेको स्पष्ट पारे।