संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट

काठमाडौं,१२ बैशाख– संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ । १५ जेठमा सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघिका कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले वर्षे अधिवेशन आह्वानको समय तोकेको हो ।

सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि प्रिबजेटमाथि छलफल तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेछ । सोही कार्यसूचीलाई ध्यान दिँदै संसद् सचिवालयले २३ वैशाखबाट संघीय संसद्को दोस्रो अधिवेशन सुरु गर्ने तयारी पूरा गरेको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

प्रि–बजेटमाथि छलफल तीन दिन
२४ देखि २६ वैशाखसम्म तीन दिन प्रि–बजेटमाथि छलफल गर्ने क्यालेन्डर सचिवालयले बनाएको छ । त्यस्तै, १ जेठभित्र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्ने गरी सचिवालयले क्यालेन्डर तयार पारेको महासचिव भट्टराईले बताए ।

‘सरकारले संसद्मा बजेट प्रस्तुत गर्नुअघि प्रिबजेटमाथिको छलफल, नीति तथा कार्यक्रमम प्रस्तुत तथा संसद्कै नियमावली पारित गर्नुछ । मन्त्रिपरिषद् सचिवालयलाई हामीले २३ वैशाखबाट संसद्को अधिवेशन आह्वान गर्नेबारे जानकारी गराएका छौँ,’ उनले भने ।

संसद्को नियमावली निर्माणमा बाधा अड्चन
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको नियमावली मस्यौदा निर्माण गर्ने जिम्मा पाएका दुई संसदीय समितिमा केही विषय विवादित बनेको छ । पहिलो बैठक बसेको एक महिनाभित्र नियमावली मस्यौदा तयार पार्ने जिम्मेवारी पाए पनि दुवै समितिको समयसीमा सकिएको छ ।

संसद्को अलग बैठकले दुईतिहाइ पुर्‍याउने पाँच विषय
संविधानमा रहेका पाँच व्यवस्थामा संघीय संसद्को दुईतिहाइ पुर्‍याउनेबारे रहँदै आएको अलमल टरेको छ । संविधान संशोधन, जनमतसंग्रह घोषणा, संकटकाल अनुमोदन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुमोदन र राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने विषयमा संघीय संसद्को दुईतिहाइ बहुमत आवश्यक पर्ने संविधानमा उल्लेख छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *