२०७२ वैशाख १२ को भूकम्पपछि भूकम्प पीडित र तराईका मुसहर तथा बाढी पीडितलाई एकीकृत नमूना बस्ती बनाएर हस्तान्तरण गरेका कलाकार दम्पत्ति धुर्मुस सुन्तलीलाई पुनःनिर्माणको जिम्मा दिनुपर्ने धारणा पूर्व प्रधानमन्त्रीबाटै आएको छ ।नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान जान नसकेको भन्दै पीडित व्यक्तिहरुलाई पैसा दिएर घर निर्माण गर्नु भन्दा धुर्मुस-सुन्तलीलाई जिम्मा दिनुपर्ने बताउनुभएको हो ।

नेता नेपालले जनताले अनुभूति गर्ने गरी पुनर्निर्माण नभएको भन्दै अब राज्यले चासो दिनुपर्ने र पुनर्निर्माणलाई राज्यले नै व्यवस्थित गर्नुपर्ने पनि धारणा राखे ।

पत्रकार किशोर पन्थीद्वारा लिखित ‘कम्पन’को लोकापर्ण समारोहमा आज उहाँले भन्नुभयो – “जुन गतिमा भूकम्पपछिको पुनःनिर्माण हुनुपर्ने हो, त्यो हुन सकेको छैन, यसमा सरकारको गम्भीर ध्यान जानुपर्छ ।”

“अझै पनि मानिस छाप्रोमा बस्न बाध्य भएका छन्”, उहाँले भन्नुभयो, “जनतालाई आश्वासन मात्र दिएका छौँ, काम हुन सकेको छैन ।”

नेता नेपालले सरकार जिम्मेवार र संवेदनशील भएर पुनःनिर्माणमा तीव्रता दिनुपर्ने उल्लेख गर्दै दातृ निकायबाट अर्बांै रकम पुनःनिर्माणका लागि आए पनि त्यो रकम उपयोग हुन नसकेको बताउनुभयो ।

नेता नेपालले भावी पुस्तालाई नेपालको भूकम्पका बारे यो पुस्तकले जानकारी गराउने बताउँदै बाढी, दैवीप्रकोपजस्ता नकारात्मक घटना मात्र नभएर सामाजिक खुशी ल्याउने कुरा लेख्नुपर्नेमा जोड दिनुभयो ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुनःनिर्माण र नवनिर्माणको काम ढिलो गतिमा भइरहेको बताउँदै यसलाई तीव्रता दिनका लागि स्थानीय तहबाट काम शुरु गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

भूकम्प प्रतिरोधात्मक भवन बनाएर क्षतिलाई न्यूनीकरण गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई जीवन्त उदाहरण बनाउन यो पुस्तकले भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रा डा खगेन्द्र लुइँटेलले पुस्तकमाथि टिप्पणी गर्दै लेखकले पुस्तकमा वैशाख १२ र २९ गते गएको भूकम्पबारे सिलसिलाबद्धरुपमा लेख्नुभएको बताउनुभयो ।

लेखक पन्थीले भूकम्पबारे भावी पुस्तालाई जानकारी गराउनका लागि पुस्तक लेखिएको बताउनुभयो । पुस्तकमा लेखकले विभिन्न १२ अध्यायमा भूकम्पका सम्बन्धमा विभिन्न व्यक्तिसँग गरिएको कुराकानीलाई संस्मरणात्मकरुपमा उल्लेख गर्नुभएको छ ।

एमाले नेता नेपाल, नयाँ शक्ति पार्टीका संयोजक भट्टराई र नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।