अग्निज्वाला -काठमाडौं बैशाख १०


 एमालेसँग पार्टी एकता प्रक्रियामा रहेको माओवादी केन्द्रले आफ्नो संगठनलाई सुदृढ बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आइतबार बिहान खुमलटारस्थित निवासमा आइतबार (९ बैशाख) बसेको केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकले पार्टी संगठन सुदृढ बनाउने निर्णय गरेको हो।

एमालेसँग पार्टी एकतामा भएको प्रगतिका सम्बन्धमा जानकारी गराउन अध्यक्ष प्रचण्डले आइतबार विहान पार्टी हेडक्वार्टर बैठकको आयोजना गरेका थिए। सो बैठकले पार्टी संगठनलाई कसरी सुदृढ बनाउने भन्ने निर्णय गर्न र कार्ययोजना निर्माणका लागि पार्टी सचिवालयको बैठक बोलाउने निर्णय गरेको छ।

दुई कारण 
अध्यक्ष प्रचण्ड एमालेसँग एकता हुने कुरामा निकै विश्वस्त छन्। तर, पार्टीका अन्य नेताहरु भने एमालेसँगको एकताका लागि त्यति विश्वस्त देखिन्नन्। आइतबारको हेडक्वार्टर बैठकमा बोल्ने अधिकांस नेताहरुले एकता समानताका आधारमा सम्मानजनक ढंगले हुनुपर्ने र त्यो न्यायोचित हुनुपर्ने कुरामा जोड दिएका थिए।

एमाले–माओवादी केन्द्रबीच यी तीन विषयमा विवाद छ- जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र कमिटीहरुमा भागबण्डा। यी तीन विषयमध्ये सबैभन्दा जटिल र पेचिलो चाहिँ पदीय भागबण्डा नै बनेको छ। माओवादी केन्द्रले समानताका आधारमा कमिटी निर्माण हुनुपर्ने अडान राखेको छ, जुन स्वीकार गर्न एमाले तयार छैन।

माओवादी केन्द्रका एक नेताका भनाईमा, एकता हुँदा र नहुँदा दुबै स्थितिका लागि संगठन मजबुत बनाउनुपर्ने आवस्यकता छ। ‘समानताका आधारमा एकता हुने नै भयो भनेपनि हाम्रो संगठन आवस्यक पर्छ’ ती नेताले भने, एकता नहुने भयो भने त झन् संगठन बनाउनै पर्ने हुन्छ। त्यसैले, संगठन निर्माणबारे निर्णय गरिएको हो।’

दुबैतिर तहसनहस
यतिबेला एमाले–माओवादी दुबैतिरको संगठन तन्दुरुस्त र सुचारु छैनन्। छिट्टै पार्टी एकता हुने आशाका साथ तल्लो तहका कमिटीहरुले न नियमित बैठक गर्न सकेका छन्, न त अन्य प्रकारको गतिविधि नै गरेका छन्। असोज (०७४) देखि एकता प्रक्रिया सुरु भएका कारण यस्तो स्थिति सिर्जना भएको हो।

निर्वाचन अभियान क्रममा एमाले–माओवादी केन्द्रका कार्यकर्ताबीच यति धेरै सौहार्द्धता  देखियो कि, त्यही कारण निर्वाचनअघि प्रचार अभियान र निर्वाचनपछि विजय जुलुशजस्ता कार्यक्रम उनीहरुले संयुक्त रुपमा आयोजना गरे। त्यसपछि छिट्टै पार्टी एकता होला भन्ने आशामा न संगठन विस्तार भयो, न त आवस्यक निर्णय नै।

यसको घाटा एमाले भन्दा माओवादी केन्द्रलाई बढी परेको छ। किनभने, तुलनात्मक रुपमा एमालेको भन्दा माओवादी केन्द्रको प्रभाव स्थानीय तहमा कमजोर छ। चुनाव यता दुबै पार्टीका सांगठनिक गतिविधि स्थानीय स्तरमा कम भएका छन्। तर, एमालेको तुलनामा माओवादी केन्द्रकै संगठनहरु तहसनहस अवस्थामा छन्।

यही अवस्था मध्यनजर गर्दै माओवादी केन्द्रले संगठन निर्माणमा ध्यान केन्द्रित गर्न लागेको हो।