सदरखोर जेलमा रहेका माओवादी पूर्वसांसद बालकृष्ण ढुंगेललाई नेकपा एमाले–माओवादी केन्द्र गठबन्धन सरकारले उन्मुक्ति दिने तयारी गरेको छ ।

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाउँदा पनि फरार रहेका ढुंगेललाई ६ महिना अघि प्रहरीले सातदोबाटोबाट पक्राउ गरी सदरखोरमा पठाएको थियो ।

केही दिनअघि माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल ढुंगेललाई भेट्न सदरखोर पुगेका थिए । जेल निरिक्षणको नाममा पुगेका गृहमन्त्री बादलले जसरी पनि जेलमुक्त गराउने आश्वासन ढुंगेललाई दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसामु माओवादीले ढुंगेल उन्मुक्तिका लागि पनि प्रस्ताव गरेको छ । पार्टी एकताका प्राविधिक पक्षसहित ढुंगेल उन्मुक्तिलाई पनि प्राथमिकताका साथ माओवादीले छलफलमा ल्याएको स्रोतले जनाएको छ ।

लोकतन्त्र दिवसको अवसर पारेर ११ वैशाखमा नै उनलाई आम माफी दिनुपर्ने माओवादीको प्रस्ताव छ । प्रधानमन्त्री ओलीले ढुंगेल उन्मुक्तिलाई विशेष चासो नदिएपछि गृहमन्त्री बादलले केही समयअघि रोस प्रकट गरेका थिए ।

मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेरै उनलाई उन्मुक्ति दिनुपर्ने माओवादीले प्रस्ताव गर्दै आएको छ ।

माओवादी कार्यकर्ताहरूले ढुंगेल उन्मुक्तिको माग राख्दै ओखलढुंगामा रहेको स्व. श्रेष्ठको शालिक पनि तोडफोड गरेका थिए । सर्वोच्च अदालतलाई च्यालेन्ज गरेपछि ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश आएको थियो ।

ढुंगेलले १२ वर्ष ५ महिना २२ दिन जेल बस्नुपर्ने हुन्छ । तर, उनलाई ६ महिनामा नै निकाल्नका लागि सरकारमा माओवादीले कसरत गरी निर्णय गराउन लागेको छ ।