काठमाडौँ ५-जापान र चीनका मन्त्रीले विश्व अर्थतन्त्रमा पछिल्लो समय अमेरिकाले चालेको ब्यापार नीतिका कारण विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्ने चिन्ता ब्यक्त गरेका छन्

झन्डै आठवर्षपछि चीन र जापानका मन्त्री आर्थिक विषयमा छलफलमा जुटेका छन्। टोकियोमा जारी वार्ताको सुरुवात गर्दे जापानका विदेश मन्त्री तारो कोनो र चीनका समकक्षी वांग यीले संयुक्त रुपमा वार्ताको अध्यक्षता गरेका थिए। दुवै देशका मन्त्रीले विश्व अर्थ व्यवस्थामा देखिएको पछिल्ला चुनौती तथा आर्थिक वृद्धिका लागि संयुक्त रुपमा अघि बढ्नु पर्ने धारणा राखेका थिए।

उनीहरुले जिम्मेवारी पूर्वक अघि बढ्नु पर्ने भन्दै विश्व व्यापार संगठनको नियमको पालना गर्दै खुल्ला व्यापार प्रणालीलाई संरक्षण गर्नु पर्ने धारणा राखेका थिए।विदेश मन्त्रीले अमेरिकाको व्यापार नीतिका विषयमा चिन्ता ब्यक्त गर्दे ठूलो मात्रामा कर लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले ‘व्यापार युद्ध’ सुरु हुन सक्ने चेतावनी दिए।

जापानी अधिकारीहरुले फलाम उद्योगहरुले आवश्यक्ता भन्दा बढी उत्पादन गर्दे आएका विषयमा पनि गम्भीर हुनु पर्ने समय आएको बताए। त्यस्तै जापानले चीनद्वारा बौद्धिक सम्पदाको अधिकार उल्लंघन गरेको विषयमा समेत आवाज उठाएका थिए। जापानी अधिकारीहरुले चीनका समकक्षी समक्ष यस्ता विषयहरुमा खुल्ला हुन आग्रह गरेका थिए।

चीनको बेल्ट एन्ड रोड परियोजनाका विषयमा समर्थन गर्ने या नगर्ने निर्णय भने जापानी अधिकारीहरुले परियोजनाको पारदर्शिता र खुल्लापनको प्रभावलाई ध्यानमा राख्दै गरिने अध्ययन पश्चात निर्णय लिने जानकारी दिए । दुबै पक्षबीच जतिसक्दो चाँडो चीनमा अर्को वार्ताको गर्ने समझदारी भएको छ।

कोनोले जापान यस्ता वार्ता हरेक वर्ष होस भन्ने चाहाना राख्दै आएको विश्वास दिलाएका थिए । उनले यस्तो खालको वार्ताले जापान र चीनको आर्थिक सम्बन्ध थप प्रगाढ हुने भन्दै वार्तालाई नियमित बनाउन आग्रह गरेका थिए ।