बीपी भवन र जग्गामा व्यावसायिक डीपीएस स्कुल सञ्चालन

काठमाडौं,५ बैशाख– व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको दिल्ली पब्लिक स्कुल (डीपीएस) ले अढाई दशकदेखि नि:शुल्क रूपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन र जमिन प्रयोग गर्दै आएको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहाताभित्र रहेको दिल्ली पव्लिक स्कुलको प्रवेशद्धार ।

भारतीय शैक्षिक कार्यक्रम अनुसार केन्द्रीय माध्यमिक शिक्षा परिषद (सेन्टर बोर्ड फर सेकेन्डरी एजुकेशन– सीबीएसई) सञ्चालित उक्त स्कुलमा हाल हजार जना बढी विद्यार्थी अध्ययनरत छन् । डीपीएसले प्रतिष्ठानको करिब पाँच विगा जमिनमा फैलिएको भवनहरू प्रयोग गर्दै आएको छ । डीपीएसको संरक्षकको रूपमा प्रतिष्ठानको उपकुपति रहने प्रावधान छ ।
 
स्कुल सञ्चालन भएवापत हुने आर्थिक आय व्यय, स्कुलको नाफा घाटा, व्यवस्थापन, सञ्चालन, शुल्क निर्धारणमा प्रतिष्ठानको कुनै हात नरहेको प्रतिष्ठान श्रोतले जनाएको छ । उक्त स्कुल नेपालकै महँगो शैक्षिक संस्थामध्ये एकमा गणना हुन्छ । केही वर्षअघिसम्म उक्त विद्यालयमा अध्ययरत नेपाली विद्यार्थीलाई भारतीय राष्ट्रिय गान घोकाउन लगाउदा व्यापक विरोध समेत भएको थियो ।
 
एनप्याव्सन सुनसरीका अध्यक्ष गणेश राईले अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने उक्त स्कुल बोर्डिङ जस्तै भएपनि नेपालका कुनै पनि संस्थागत विद्यालयको संगठनमा आवद्ध नभएको बताए । उनले डीपीएसको सञ्चालन व्यवस्थापन रेखदेख र पाठ्यक्रम भारतीय भएकाले आफ्नो संगठनले खासै चासो नराखेको पनि बताए ।
 
नेपाली विद्यार्थीहरूबाट मात्र वार्षिक करिव पाँच करोड कमाउने डीपीएसलाई पानी र भारत सरकारले पठाएका कर्मचारीका लागि क्वार्टर सुविधा समेत प्रतिष्ठानले नि:शुल्क उपलव्ध गराउँदै आएको छ । आजको कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *