नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदका लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । पहिलो चरणमा सभापतिका आकांक्षी शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।
दोस्रो चरणमा देउवालाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले मात्र होइन, शशांक कोइरालाले पनि सहयोग गर्ने बताइसकेका छन् । उनलाई पहिलो चरणमा कांग्रेसका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले सहयोग गरिसकेका नै थिए । १३ औं महाधिवेशनसम्म देउवाको टिममा नै रहेका विमलेन्द्र निधिले उनलाई दोस्रो चरणमा सहयोग गर्नुलाई धेरैले आश्चर्यका रुपमा लिएका छैनन् ।

तर, लामो समय यता देउवाविरुद्धको टिममा रहेर राजनीति गरिरहेका प्रकाशमान सिंहले समेत देउवालाई समर्थन गर्ने भए पछि यसलाई अचम्मका साथ लिइएको छ ।

‘हामी आफैं पनि ठूलो सरप्राइजमा परेका छौँ,’ शेखर कोइरालानिकट एक नेताले अग्निज्वालासङ भने, ‘प्रकाशमान दाइले अचानक देउवालाई समर्थन गर्नुहोला भन्ने हाम्रो कल्पना बाहिरको कुरा हो ।’यसको पछाडि देउवाले प्रकाशमान लाई उपप्रधानमन्त्री र निधि पक्षलाई मन्त्री पद बाडेको हुनसक्ने ती नेताले बताए ।