काठमाडौं , १६ चैत – प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।
शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुले प्रमुख माग गरेका छन् । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गते निर्धारण गरिएको छ । अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘पहिले परीक्षा स्थगित गर्नुपर्‍यो, जसले वार्ताको वातावरण निर्माण गर्दछ ।’

सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा रहेका छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका समेत छन् ।

शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत पुर्‍याइएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले भने, ‘परीक्षा स्थगित गरेर शिक्षा ऐनमा अविलम्ब १० औं संशोधन गर्नुपर्छ ।’ आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि र मध्याह्न काठमाण्डुको माइतीघर मण्डलामा चक्काजाम गर्ने भएका छन् ।днепропетровские сапогиpnivmat