अग्निज्वाला | नेपाल बार एसोसिएसनले आज देशभरका ९० बार इकाईमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आएको बारले देशभरका सबै अदालतमा विरोध प्रदर्शन गर्ने भएको हो ।

काठमाण्डु उपत्यकाका सबै बार इकाईबाट सर्वोच्च अदालतमा उपस्थित भएर प्रधानन्यायाधीश जबराविरुद्ध विरोध गरिने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । उनले सर्वोच्चबाट सुरु भएको आन्दोलन देशभरका अदालतमा पुगेको बताए ।

बारले प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । देशभरका सबै अदालतमा आज पनि मध्यान्न १२ बजेसम्म विरोधका कार्यक्रम रहेको रहेको महासचिव पौडेलले बताए । बारले २२ गतेदेखि ३० सम्मका लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेर विरोध प्रदर्शन गरिरहेको छ ।

प्रधानन्यायाधीश जबरा भने इजलास तोक्दै आएका छन् । बारले आइतबार प्रधानन्यायाधीशले तोकेको इजलासमा नजान आग्रह गर्दै सर्वोच्च अदालतका सबै न्यायाधीशलाई पत्र पठाइसकेको छ ।