दुई दशकअघि नेपाललाई खेल पर्यटनको केन्द्र बनाउने राजनीतिक भाषण निकै लोकप्रिय हुने गर्थे। खास गरी आइसिसी र एसियाली क्रिकेट परिषद् (एसिसी) ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट एकेडेमी बनाउने घोषणा गरेपछि यस्तो सम्भावना अघि बढेको थियो।राम्रो रंगशाला भए पाकिस्तान, भारतलगायतका अन्य देशका खेल तटस्थ भूमिका रूपमा नेपालमा गरेर ठूलो संख्यामा पर्यटक भित्र्याउने सपना आइसिसीको त्यो निर्णयले देखाएको थियो। सुरक्षा तथा भारत–पाक खराब सम्बन्धका कारण पाकिस्तानले धेरै जसो अन्तर्राष्ट्रिय खेल संयुक्त अरब इमिरेट्स (युएई) मा खेलिरहेको थियो र छ।

नेपालको मौसम युएईको तुलनामा निकै शीतल र क्रिकेट सुहाउँदो छ। वर्षमा ९ महिना क्रिकेट खेल्न सकिने मौसम हुनु,प्राकृतिक रूपमा सुन्दर हुनु,तुलनात्मक रूपमा सस्तो हुनुले नेपालसँग ठूला अन्तर्राष्ट्रिय खेलको तटस्थ आयोजक बन्ने व्यावहारिक सम्भावना पनि नभएको होइन। तर त्यसका लागि केही अनिवार्य आवश्यकता छन्।

अन्तर्राष्ट्रिय स्तरको कम्तीमा ५० हजार क्षमताको सुविधासम्पन्न रंगशाला, होटलको राम्रो सुविधा, सुरक्षाको ग्यारेन्टीजस्ता अनिवार्य सर्त पूरा गर्न सक्दा अन्तर्राष्ट्रिय लबिङ पनि उस्तै भए पाकिस्तान र भारतको खेल नेपालमा हुन अझै पनि असम्भव छैन।

अर्बौंको बजेट रहेको नेपाल पर्यटन बोर्डले नै वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य बनाउने देशमा साँच्चिकै त्यस्ता खेल आयोजना गर्न सके एउटै शृंखलाले पर्यटन बोर्डको लक्ष्य पूरा गर्ने थियो। तर नेपाली क्रिकेटको बेथितीले निरन्तरता पाइरहँदा खेल पर्यटनको ठूलो सम्भावनाबाट नेपाल वञ्चित भइरहेको छ।

तटस्थ भूमिका रूपमा भारत र पाकिस्तानको खेल आयोजना गर्ने सम्भावनाबाट च्युत भएर नेपाल आफैं तटस्थ भूमिको खोजीमा युएईको चर्को धुप खेपिरहेको छ। गत महिना सम्पन्न विश्व क्रिकेट लिग च्याम्पियनसिप त्यसको बलियो उदाहरण हो।तर खेल पर्यटनको सम्भावनाबारे चर्का भाषण र मीठा कार्यपत्र प्रस्तुत हुने क्रम पनि निरन्तर नै छ।

कमजोर पूर्वाधार

२००१ तिर आइसिसीले नेपालमा अन्तर्राष्ट्रिय एकेडेमी बनाउने निर्णय गर्दै रकम पनि छुट्याएको थियो।पहिलो किस्तास्वरूप झन्डै ४ लाख डलर निकासा गरे पनि नेपालभित्रको विवादका कारण आइसिसीले पैसा फिर्ता गरेको थियो।

परिषद्का तत्कालीन सदस्य सचिव विनोदशंकर पालिखे एकेडेमी आफ्नो गृहनगर पोखरा लान चाहन्थे। जसमा क्यानका तत्कालिन अध्यक्ष जयकुमारनाथ शाह र महासचिव विनयराज पाण्डेको सहमति थिएन।

दुई पक्षबीचको विवादका कारण नेपालले आइसिसीको समयसीमाभित्र एकेडेमीका लागि उपयुक्त जग्गा दिन सकेन। जसका कारण अन्तर्राष्ट्रिय एकेडेमीको त्यो महत्त्वांकाक्षी योजना नेपालबाट दुबई सर्‍यो। क्रिकेट खेलिने विश्वभरका सबै देशको जस्तो पिच हुनुका साथै संसारकै सबभन्दा राम्रो अभ्यास सुविधाको एकेडेमी अहिले विश्वका सबै ठूला देशका स्टार खेलाडीको अभ्यासको स्वप्निल गन्तव्य बनेको छ।

आन्तरिक विवादले कुठाराघात नगरेको भए अहिले विराट कोहली, केन विलियम्सन,रोहित शर्मा,जस बट्लर र साइन अफ्रिदीजस्ता विश्वस्तरीय सुपरस्टारको नेपाल भ्रमण लगातार भइरहन्थ्यो। अनि उनीहरूलाई पछ्याउने समर्थकको भ्रमणले पनि नेपाल आउने पर्यटकको ठूलो हिस्सा ओगट्ने थियो। सुपरस्टार खेलाडीको भ्रमणबाट नेपाली क्रिकेट प्रेरित हुने आश गर्न सकिन्थ्यो।

लगातार सफलताको फड्को मारिरहेको नेपाली राष्ट्रिय टोलीले २०१३ को अन्त्यमा ट्वान्टी–२०विश्वकप २०१४ का लागि स्थान सुरक्षित गर्दा देशभित्र अन्तर्राष्ट्रिय स्तरका केही रंगशालाको आवश्यकता प्रस्ट रूपमा खट्किएको थियो।

२०१४ मा बंगलादेशमा भएको विश्वकपका सहभागी १६ देशमध्ये पूर्वाधारमा सबभन्दा कमजोर नेपाल नै थियो। हालै ओमानमा सम्पन्न विश्व क्रिकेट लिगमा समेत नेपालले लक्ष्यअनुरूपको प्रदर्शन गर्न सकेको थिएन।

अहिले पनि नेपालको अवस्थामा त्यो बेलाभन्दा कुनै फरक आएको छैन। दुई वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा पुनर्निर्माणको नाममा कीर्तिपुरमा केही पूर्वाधार थप्ने झारो टारिए पनि अझैसम्म नेपालमा एउटा पनि ढंगको अन्तर्राष्ट्रिय स्तरको रंगशाला छैन।

ट्वान्टी २० सँगै नेपालले ५० ओभरको खेलमा पनि यसबीचमा उल्लेख्य प्रगति गरिसकेको छ। २०२३ सम्मका लागि नेपाल एकदिवसीय मान्यता प्राप्त देश हो। आफ्नै क्रिकेटको स्तर कायम राख्न र त्यसमा थप सुधार्नका लागि पनि भौतिक पूर्वाधार नेपाली क्रिकेटको पहिलो आवश्यकता हो। तर सरकारी उदासीनता, क्यानभित्र लगातारको विवाद र राजनीतिक दलको ‘कब्जा’ रणनीतिले गर्दा अझैसम्म पनि नेपाल २० वर्षअगाडिकै स्थितिमा छ।

आफ्ना खेल आयोजनाका लागि अन्तिम समयसम्म अन्योलमा रहन्छ, तटस्थ मैदानको खोजी गरिरहन्छ र ‘तटस्थ मैदानका रूपमा भारत–पाकिस्तानको शृंखला गराउँछौं’ भन्न छोड्दैन।

बहुचर्चित मूलपानी एकेडेमीले निर्माण काम सुरु भएको डेढ दशक बितिसक्दा पनि अझै प्रस्ट आकार लिन सकेको छैन।२००१ मा परिषद्का तत्कालीन सदस्यसचिव पालिखेले पोखरामा एकेडेमी बनाउने इच्छा देखाउँदा त्यसलाई रोक्न क्यानले मूलपानीको झन्डै ४ सय रोपनी जग्गामा बनाउने प्रस्ताव गरेको थियो।

आइसिसीले योजना दुबई सारे पनि नेपाली क्रिकेटको सम्भावना देखेर पछि मूलपानीमा एसिसीको क्षेत्रीय एकेडेमी बनाएर सहयोग गर्ने आश्वासन दियो। क्रिकेटको बढ्दो लोकप्रियताका कारण सरकारले पनि एकेडेमीका लागि निश्चित रकम छुट्याउन सुरु गरिसकेको थियो।

सरकारी पैसामै २००६ मा मूलपानीमा एकेडेमी निर्माणको काम क्यानले सुरु गर्‍यो। सरकारले त्यो मैदानसँगै अर्को रंगशाला बनाउने भनेर काम सुरु गरेको पनि आठ वर्ष पूरा भएको छ। तर निर्माण कार्य अझै चुस्त गतिमा अगाडि बढेको छैन।

सरकारले प्रत्येक वर्ष मूलपानी रंगशाला तथा एकेडेमीका लागि करोडौं रूपैयाँ छुट्याउने गरे पनि अधिकांश रकम फ्रिज हुने गरेको छ।

गत महिना सम्पन्न एभरेस्ट प्रिमियर लिग(इपिएल)दौरान पाकिस्तानका साहिद अफ्रिदी,बंगलदेशका तमिम इकवाल,अफगानिस्तानका मोहम्मद सहजाद र करिम जनत तथा श्रीलंकाका उपुथ थरांगा जस्ता चर्चित खेलाडीले नेपालमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।

क्यान आफैंले आयोजना गर्ने नेपाल प्रिमियर लिग(एनपिएल)मा भित्रने खेलाडीले पनि नेपाली क्रिकेटमा अझ राम्रा खेलाडी भित्र्याउन चुनौती हुनेछ।नागरिक दैनिक बाट