नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल–भारतबीच कहिलेकाहीं समस्या आउनु स्वाभाविक भएको बताउनुभएको छ । हाल भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेकाले समय–समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविक भएको बताउनुभयो । भारत भ्रमणका क्रममा वनारसस्थित वनारस हिन्दू विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौं वर्षदेखिको सम्बन्ध रहेको भन्नुभयो । कहिलेकाहीं समस्या भए दुवै तर्फबाट वार्ताको टेबलमा बसेर निकास निकाल्नुपर्ने बताउनुभयो । उहा“ले दुई देशबीचको सम्बन्धलाई विश्वासका आधारमा बलियो बनाउनुपर्ने बताउनुभयो । पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका डा. महतले यसभन्दा अघिल्लो केपी ओली सरकारको अस्थिर र अपरिपक्व परराष्ट्र नीतिका कारण दुई देशका बीचमा असमझदारी बढेको धारणा राख्नुभयो । वर्तमान सरकारले विश्वासमा आधाारित रहेर आफ्ना छिमेकी एवं विश्व समुदायसंग सन्तुलित र परिपक्व परराष्ट्र नीति अख्तियार गर्ने बताउनुभयो ।