स्याङ्जाको वालिङमा हिजो सा“झ भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परि घाइते भएकी गल्याङ–१० की ४ वर्षीया करिश्मा थापाको उपचारका क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । हिजो सा“झ भएको दुर्घटनामा परि गल्याङ–१० का ३२ वर्षीया गङ्गा पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएको थियो । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये तीन जनाको डिस्चार्ज भएको छ भने १४ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदिखोलामा दुर्घटनामा परेको थियो । जीप ग्रामीण सडकबाट एक सय मिटर तल झरेको थियो ।