यूईएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ । स्पेनमाथि पूनरागमन जित निकाल्दै फ्रान्स च्याम्पियन बनेको हो । फ्रान्सले स्पेनमाथि २–१ को जीत हात पारेको हो । फ्रान्सको जितमा करिम बेन्जेमा र केलियन एमबाप्पेले गोल गरे । स्पेनका लागि मिकेल ओयरजावालले गोल गरेका थिए। फाइनलका सबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६४ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा मिकेल ओयरजावालले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाए । तर स्पेनको अग्रता दुई मिनेट पनि टिकेन ६६औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बेन्जेमाले एमबाप्पेको पासमा गोल गरेका थिए । ८०औं मिनेटमा एमबाप्पेले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । गत जुन–जुलाईमा सम्पन्न युरोकपमा कमजोर प्रदर्शन गरेको फ्रान्सले प्रशिक्षक डिडियर डेसच्याम्पको नेतृत्वमा दोस्रो उपाधि जित्न सफल भएको होे । यसअघि फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जितेको थियो । त्यसअघि गएराति नै भएको खेलमा बेल्जियमलाई २–१ पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गरेको थियो । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए ।