दशैंका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाण्डौ उपत्यका छाडेका छन् । यो महिना सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । गएको १ गतेदेखि घटस्थापनाको दिन २१ गतेसम्म फाट्टफुट्ट मात्रै गाउ“घर गएपनि घटस्थापनापछि बाहिरिनेको संख्या बढेको महासंघले जनाएको छ । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको हो । गएको ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो । ११ गतेदेखि अहिलेसम्म साढे ७ लाखभन्दा धेरै काठमाण्डौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्नेछ । गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । यात्रुको चाप बढेसँगै काठमाण्डौ उपत्यकासंग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी दुई नाका काठमाण्डौको नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ । यी दुई नाकामा अहिले पनि जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । दशैंमा यात्रा गर्ने यात्रुको सहजताका लागि नागढुङ्गादेखि नारायणघाटसम्मको सडक खण्डमा ठूला गाडी चलाउन रोक लगाए पनि यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा पनि जाम हुने गरेको छ ।