कोरोना महामारीका कारण विश्वकै शिक्षा क्षेत्र अस्तव्यस्त रह्यो। नेपाली शिक्षामा त्यसले अभूतपूर्व क्षति पुर्‍यायो। सुविधासम्पन्न तथा निजी विद्यालयका १५ प्रतिशत विद्यार्थी वैकल्पिक विधिअन्तर्गत अनलाइन वा भर्चुअल माध्यमबाट पठनपाठनमा संलग्न भए पनि नेपालका कुल विद्यार्थीमध्ये ८५ प्रतिशत नियमित शैक्षिक गतिविधिबाट पूर्णतः वञ्चित रहे।

भर्खर विद्यालय जान थाल्दै गरेका र सिकाइमा अभ्यस्त हुन थालेका कलिला विद्यार्थीको सिकाइ बानी विस्मृतिमा पुग्यो भने उच्च तथा उच्चतर शिक्षाका पठनपाठन र परीक्षा कार्यक्रम समेत सञ्चालन हुन नसक्दा शैक्षिक वर्ष नै खेर गए। लगभग डेढ वर्षको अवधिसम्म समस्या विद्यमान रहँदा आवश्यक तयारी र उपयुक्त किसिमको प्रतिबद्धता नभएका कारण शिक्षाले परम्परागत ढर्राबाट आफूलाई बाहिर ल्याउन सकेन।

विद्यालय शिक्षाका लागि स्रोतसाधन तथा बालबालिकाको अभ्यस्तताको अभाव देखाइए पनि नेपालका विश्वविद्यालयले नाम मात्र विश्वविद्यालय धारण गरे। उनीहरूले स्थानीय विद्यालय जत्तिको हैसियत पनि देखाउन सकेनन्। यसैले महामारीले विश्वविद्यालयका सम्पूर्ण गतिविधिलाई ठप्प मात्र बनाएन, आगामी दिनमा समेत सम्हाल्न नसक्ने गरी अस्तव्यस्त पारेको छ।

विश्व स्वास्थ्य संगठनले भनेजस्तै खोप वा सामूहिक प्रतिरक्षा प्रणालीका कारण महामारीलाई नियन्त्रण गरे पनि पूर्ण रूपमा भाइरसको अस्तित्व भने समाप्त हुनेछैन। लामो समयसम्म कोरोना भाइरस मानव समुदायसँगै रहने निश्चितप्रायः छ। यस अवस्थामा शैक्षिक संस्थाले परम्परागत साँघुरो घेराबाट बाहिर निस्केर प्रभावकारी कदम चाल्नुपर्छ।

शिक्षण गतिविधि र पद्धतिमा विविधता, मूल्यांकनमा नवीन सोच तथा विद्यार्थी केन्द्रित परियोजना कार्यलाई आत्मसात् नगर्ने हो भने आगामी दिनमा महामारीबाट र अन्य कारणले पनि पठनपाठनका क्रियाकलाप यसपटक जस्तै ठप्प हुने सम्भावना रहन्छ। यसैले अबको शिक्षा बढी प्रयोगात्मक, व्यावहारिक र विद्यार्थीका सहज एवं स्थानीय परिवेश, सीप र प्रविधिसँग सम्बन्धित र सान्दर्भिक हुनुपर्छ।

गृहशिक्षामा जोड

कलिलो उमेरमै औपचारिक शिक्षाका लागि विद्यालयमा जाँदा विद्यार्थीले आफ्ना परम्परागत संस्कार, संस्कृति तथा पारिवारिक सम्बन्धलाई बिर्सेर एकलकाँटे, रिसाहा र स्वार्थी प्रवृत्ति देखाउन थाले भनेर पश्चिमा राष्ट्रहरूले गृहशिक्षालाई जोड दिँदै आएका छन्। विद्यालय जाने उमेरका बालबालिकालाई स्थानीय निकायको सहमतिमा अभिभावकले आफूसँगै राख्ने र निश्चित किसिमका सीप सिकाउने कामलाई बेलायतमा समेत प्राथमिकता दिइएको छ।

नेपालको सन्दर्भमा परम्परागत शिक्षण पद्धतिमा व्रतबन्धपछि घरमै रुद्री, चण्डीजस्ता विषयको अध्ययन गर्ने परिपाटी रहेको थियो। आधुनिक र औपचारिक शिक्षाको सुरुवात भएपछि पुरातनका नाममा परम्परागत शिक्षालाई हेला गर्न थालियो। स्थानीय सीप, प्रविधि, प्रथा र परम्परालाई अन्धविश्वासको बिल्ला भिराएर आधुनिकताका नाममा अंग्रेजी शिक्षा ग्रहण गर्ने नयाँ पुस्ता नेपालका लागि भन्दा विदेशीका लागि प्रयोग हुने जनशक्ति बन्न पुगे।

महामारीले औपचारिक शिक्षामा पुर्‍याएको गम्भीर चोटका कारण लगनपछिको पोतेकै रूपमा भए पनि नेपाल सरकार, शिक्षा मन्त्रालयले गृहशिक्षा कार्यक्रम सार्वजनिक गर्‍यो। गृहशिक्षाअन्तर्गत कम्तीमा दसौँ कक्षासम्म अध्ययन पूरा गरेका बुवाआमा, हजुरबा हजुरआमा वा दाइदिदीलाई आफ्ना छोराछोरी वा भाइबहिनीलाई पठनपाठन र सीप सिकाइमा सहजीकरण गर्ने जिम्मेवारी दिने कुरालाई प्रस्ताव गरिएको छ।

विद्यालयका शिक्षकसँगको सहकार्यमा निश्चित समय र विषयको क्रम निर्धारण गरी उमेर अनुसारका स्रोत र सामग्रीको प्रयोग गरी विभिन्न क्रियाकलाप सञ्चालन गरी शिक्षण सिकाइ गर्ने उद्देश्य शिक्षा मन्त्रालयले लिएको देखिन्छ। घरमा सिकेका सीपको प्रवद्र्धन गर्दै पाठ्यक्रमको उद्देश्य समेत पूरा गर्ने लक्ष्य राखिएको गृहशिक्षाले विविधताको सम्मान गर्ने भावनालाई आत्मसात् गरेको छ।

यसले शिक्षकको भूमिकालाई समेत परिवर्तन गरिदिएको छ। स्थानीय स्रोत–साधन, परम्परागत ज्ञान र विविध क्षेत्रबाट सिकाइ क्रियाकलापमा सहयोग लिइने भएकाले शिक्षक एक मात्र ज्ञानको स्रोत भन्ने परम्परागत मान्यता भत्किएको छ। यस अवस्थामा शिक्षक विद्यार्थीलाई एकोहोरो पढाउने गुरुका रूपमा नभएर विद्यार्थीलाई आवश्यक ठाउँमा पथ प्रदर्शन गर्ने मार्गदर्शकका रूपमा रहने परिकल्पना गरिएको छ।

प्रविधिमैत्री शिक्षा

विद्यालयलाई आधुनिक सूचना प्रविधिले सम्पन्न गर्न सकिएको भए नेपालको शिक्षा यति सारो अस्तव्यस्त हुने थिएन। त्यसो त महामारीका बेला इन्टरनेटको सुविधा पुगेका ठाउँमा समेत शिक्षक शिक्षिकाले विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन त्यति रुचि देखाएनन्। पठनपाठन भनेको कक्षाकोठामा मात्र सम्भव हुने क्रियाकलाप हो भन्ने परम्परागत मान्यताले ग्रस्त भएका शिक्षक शिक्षिकाले उपलब्ध स्रोत र साधनलाई प्रयोग गर्न सकेको भए धेरै हदसम्म शिक्षण सिकाइ क्रियाकलापले निरन्तरता पाउने थियो।

महामारीपछिको अवस्थामा जनजीवन सामान्यीकरण भए पनि आम विद्यालयमा दिइने शिक्षा प्रविधिमैत्री भने हुनैपर्छ। यसैले अबको शिक्षण सिकाइ क्रियाकलाप पाठ्यपुस्तक केन्द्रित हुनुहुँदैन। पाठ्यक्रमका आधारभूत सीप आर्जन गर्नका लागि विभिन्न क्षेत्र र माध्यमबाट विद्यार्थीले आफ्नो सिकाइ क्रियाकलापलाई अगाडि बढाउन पाउने अवसर दिनुपर्छ।

विद्यार्थीले समूह कार्य तथा परियोजना कार्यका लागि अनलाइनका माध्यमबाट सञ्जाल निर्माण गर्ने, विभिन्न क्षेत्रका विविध विषयसित सम्बन्धित विवरण र तथ्यांक संकलन गर्ने, विश्लेषण र सामान्यीकरण गर्ने काममा प्रविधि अपरिहार्य बनेको छ। प्रविधिसँगै आफूलाई रूपान्तरण गर्न नसक्ने हो भने शिक्षाप्रतिको रुचि कम हुने मात्र होइन, यसको औचित्य समेत समाप्त हुने देखिन्छ।

स्थानीय सीपको मानकीकरण

महामारीको समयमा शिक्षकले विद्यार्थीलाई किताब बढाउनुपर्छ भन्ने मान्यताले गर्दा विद्यार्थीको नियमित शिक्षण सिकाइ क्रियाकलाप बन्दप्रायः हुन पुग्यो। कक्षाकोठा र पाठ्यपुस्तकभन्दा बाहिर पनि सिकाइ क्रियाकलाप सञ्चालन हुन सक्छन् भन्ने मानसिकताको सिर्जना गर्न नसकेका कारण पनि धेरै नेपाली बालबालिका आफ्नो उमेरअनुरूपको सिकाइ क्रियाकलापबाट डेढ वर्षसम्म वञ्चित भएका हुन्।

युनेस्कोले भनेजस्तै आगामी केही वर्ष विद्यालय छाड्ने विद्यार्थीको संख्या बढ्ने तथा विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार हुन नसक्ने अवस्था नआउला भन्न सकिँदैन। यसैले हिमाली क्षेत्रका बालबालिकाले दैनिक जीवनमा प्रयोग गरेका व्यावहारिक र जीवनोपयोगी सीप (पशुलाई रेखदेख गर्ने र जडीबुटी संकलन गर्ने आदि)लाई उनीहरूको विद्यालयको शैक्षिक मूल्यांकनमा समावेश गरिनुपर्छ।

यस्तै, पहाडी ग्रामीण क्षेत्रका बालबालिकाले खेतीपाती, पशुपक्षीको स्याहारसम्भार, घरेलु काम र परम्परागत पेसा व्यवसायमा प्राप्त गरेको दक्षतालाई औपचारिक शिक्षाको मूल्यांकनमा समावेश गर्नुपर्छ। सहरी क्षेत्रका बालबालिकाका कम्प्युटर तथा सूचना प्रविधिका क्षेत्रमा सिकेका सीप, सहरी व्यस्त जनजीवनमा किनमेल गर्न र घरायसी काममा देखाएको निपुणतालाई पनि विद्यालयको मूल्यांकनमा समावेश गर्नुपर्दछ।

नेपालका सन्दर्भमा स्थानीय वा जीवनोपयोगी शिक्षाका रूपमा कुनै एक विषय विशेषमा विद्यार्थीलाई जबर्जस्ती र अनिवार्य रूपमा सहभागी गराउनुभन्दा सम्बन्धित क्षेत्र र विद्यार्थीको रुचिअनुसारको परम्परागत घरेलु तथा आधुनिक प्रविधिसित सम्बन्धित सिर्जनात्मक काममा संलग्न गराउनु उपयुक्त देखिन्छ।

ग्रामीण क्षेत्रका विद्यार्थीले दैनिक रूपमा पठनपाठनका अतिरिक्त घरपरिवारलाई सघाउँदै आएका हुन्छन्। उनीहरूले घरपरिवारलाई सघाएका कामलाई नै वास्तवमा जीवनोपयोगी शिक्षाका रूपमा औपचारिक मूल्यांकनभित्र समाविष्ट गर्नुपर्छ। यसले भूगोलअनुसार शिक्षाको विविधीकरण, स्थानीय जनजीवन र आवश्यकतासित सम्बन्धित जनशक्ति उत्पादन एवं जन्मभूमिमै समायोजन हुन सक्ने जनशक्ति उत्पादनमा समेत सहयोग पुर्‍याउनेछ।

सहकार्यमूलक क्रियाकलाप

शिक्षा आर्जन गर्ने काम कक्षाकोठामा सामूहिक रूपमा मात्र सम्पन्न हुने काम हो भन्ने परम्परागत परिभाषालाई महामारीले पूर्ण रूपमा परिवर्तन गरेको छ। विद्यालय, शिक्षक तथा अन्य स्रोतबाट समेत विद्यार्थीले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन सक्छन् भन्ने कुरालाई समेत स्थापित गरेको छ। यसले अबको शिक्षा जसरी हुन्छ, अरूलाई जितेर आफू अगाडि आउने वा प्रतिस्पर्धात्मक नभएर सहयोगी र सहभागितामूलक हुनुपर्छ।

सधैँ होडबाजी गर्नेभन्दा सहिष्णु बनेर समूहकार्य गर्ने र नेतृत्व लिने जनशक्ति सिर्जना गर्नु आजको आवश्यकता हो। एक्लै बसेर आत्मरतिमा मात्र अलमलिनुभन्दा समूहमा मिलेर खोज र अनुसन्धान गर्ने बानीको विकास गर्न परियोजना कार्य र समूहकार्यमा विद्यार्थीलाई संलग्न गराउनुपर्छ।

नेतृत्व लिन सक्ने हैसियत स्थापित गर्न जित्नैपर्ने कुरालाई भन्दा खुसी हुन सिक्ने सीपलाई प्रधानता दिनुपर्छ। अबको हाम्रो शिक्षण सिकाइ क्रियाकलाप समूह कार्य, परियोजना कार्य, सामूहिक छलफल, नेतृत्वदायी भूमिका, सहयोगी भावना र सहिष्णुतामा केन्द्रित हुनुपर्छ। यस प्रकारको सिकाइले विद्यार्थीलाई खुसी हुँदै पढ्ने, सिक्ने र बाँकी जीवनमा समेत खुसी हुँदै सर्वांगीण रूपमा सन्तुलित र विकसित आचरण एवं जीवनशैलीको विकास गर्ने सुअवसर प्राप्त हुन्छ।

निष्कर्ष

हरेक समस्याले समाधान सँगै ल्याएको हुन्छ। वास्तवमा संकट र विपत्का क्षणले मानव जातिलाई अझै व्यवस्थित रूपमा अगाडि बढ्न सहयोग पुर्‍याउँछ। शिक्षा क्षेत्रमा देखापरेको महामारीको प्रभावलाई न्यूनीकरण गर्न र शिक्षण सिकाइ क्रियाकलापमा आमूल परिवर्तन गर्न महामारीपछिको समय सुनौलो अवसर सिद्ध हुन सक्छ। परम्परागत कुरामा रुढ नबनेर आफूलाई परिवर्तन गर्दै समग्र शिक्षा क्षेत्रको विकासका लागि खासगरी शिक्षक–शिक्षिका, शिक्षण संस्था तथा आम अभिभावक तयार हुनैपर्छ।

सामान्य विद्यालयको जत्तिको स्तर कायम गर्न नसकेका हाम्रा विश्वविद्यालयले विश्वका अन्य विश्वविद्यालयको हाराहारीमा आफूलाई उभ्याउन प्रविधि सम्पन्न बनी आगामी २० वर्षका लागि उपयुक्त र आवश्यक जनशक्ति उत्पादन गर्ने दिशामा आफूलाई आधुनिकीकरण गर्नैपर्छ। सामुदायिक विद्यालयले यस संकटपूर्ण समयलाई आफ्नो कायाकैरन गर्ने मौकाका रूपमा स्थापित गर्न सक्नुपर्छ।