रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । औद्योगिक करिडोरको जग्गामा रातको समयमा अतिक्रमण गर्ने र बस्ती बसाल्ने क्रम नरोकिएपछि स्थानीय प्रशासनले त्यस क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो । करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा २८ भदौदेखि अर्को सूचना जारी नहु“दासम्म लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । निषेधित क्षेत्र पूर्व तिनाउ नदीसम्म, पश्चिममा हरिहरपुरको खोतियोग्य जमिनसम्म, उत्तरतर्फ शिवनगर रानीगाउ“ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७ सम्म र दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिनसम्म तोकिएको छ । निषेधित क्षेत्रभित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तीमा छ । आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । उक्त क्षेत्रमा स्थानीयको विरोध र ढुंगामुढाका बीच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।