भाद्र २८, काठमाडौं ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हु“दैछ । दिउ“सो १ बजेबाट एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुन पाउने छन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको हो । परीक्षा काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ । परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाएर परीक्षा केन्द्र पनि इमेलबाटै जानकारी गराइसकेको छ । परीक्षामा सहभागी हुन आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ । हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एकजनालाई मात्रै राखिने तथा स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । ८० पूर्णाङ्कको परीक्षामा अंग्रेजी भाषामा ग्रामर र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछ । ४० वटा टिकमार्क प्रश्नको हरेक २ अंकका हुनेछन् । लिखित परीक्षामा १६ सय ८० जना उत्तीर्ण हुनेछन् । परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक हुनेछ । लिखित परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता र शारिरिक परीक्षण गर्ने विभागको तयारी छ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ । अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन् ।