प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसंग आग्रह गर्नुभएको छ । आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाई भएको भन्दै देउवाले अब ढिलो गर्न नहुने बताउनुभएको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो । सत्ता गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक आज बेलुकी ६ बजे पुनः बस्ने भएको छ । आज बिहान बालुवाटारमा बैठक बसे पनि समय अभावका कारण धेरै विषयमा छलफल गर्न नसकिएकाले सा“झका लागि पुनः बैठक बोलाइएको हो । सा“झ लामो छलफल गरेर मन्त्रिपरिषद् विस्तार छिटो टुंग्याउने सहमति भएको छ । यसैबीच आजै राष्ट्रिय सुरक्षा परिषद्को बैठक पनि बसेको थियो । बैठकका निर्णयबारे केही खुलाइएको छैन । प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री बालकृष्ण खा“ण, मुख्यसचिव शंकरदास बैरागी, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, प्रधानसेनापति प्रभुराम शर्मा लगायत सहभागी हुनुहुन्थ्यो । एमसीसी उपाध्यक्ष फातिमा सुमारलगायतको टोली चारदिने नेपाल भ्रमणमा रहेको बेला सुरक्षा परिषद्को बैठक बोलाइएको हो । एमसीसीविरुद्ध उपत्यका लगायत विभिन्न ठाउ“मा प्रदर्शन भइरहेको छ ।
फातिमा सुमार भेटघाटमा
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) को टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटघाट गरेको छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली भेटवार्ताका लागि बिहानै प्रचण्ड निवास पुगेको हो । अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताउनुभएको छ । भेटमा प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताउनुभएको हो । सुमारले एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई यसबारेमा दृष्टिकोण बनाउन सुझाव दिनुभएको छ । एमसिसी टोली आजै ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा जसरी पनि संसद्बाट एमसीसी पारित गर्ने तयारीमा हुनुहुन्छ भने सत्तारूढ गठबन्धनकै माओवादी र एकीकृत समाजवादी भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् । एमालेले सरकारको धारणा आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । सत्तारुढ दलहरु नै एकमत हुन नसकेका कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा पर्नुभएको छ । २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ ।