अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङबीच आज बिहानै टेलिफोनमा वार्ता भएको छ । फोनमा राष्ट्रपति सीसंग बाइडेनले ‘व्यापक रणनीतिक छलफल गरेको’ ह्वाइटहाउसले जनाएको छ । अफगानिस्तानबाट अमेरिकी सेना बाहिरिएर तालिबान सत्तामा आएपछि दुई शक्ति राष्ट्रका प्रमुखबीच पहिलो छलफल भएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले चीनका समकक्षी सीसंग बेइजिङ र वासिङ्टनबीच बढिरहेको द्वन्द्व व्यवस्थापनका विषयमा फोन संवाद गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । त्यस क्रममा चीनका राष्ट्रपति सीले दुई देशबीचको सम्बन्धलाई ‘साहसपूर्वक’ सही ठाउ“मा ल्याउनुपर्ने अन्यथा चीन–अमेरिकाबीच द्वन्द्वले विश्वलाई नै क्षति पुग्ने बताएको छ । दुई राष्ट्रप्रमुखबीच दुई देशबीच देखापर्ने मुद्दाका विषयमा ‘स्पष्ट र गहन’ छलफलका लागि आपसी संवाद जारी राख्ने सहमति भएको चीनको विज्ञप्तिमा छ । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि दुई शक्तिराष्ट्रबीच मनमुटाव बढेको छ । अमेरिका तालिबान सरकारको कट्टर विरोधी बनेको छ भने चीन तालिबानसंग नजिक देखिएको छ ।