भाद्र २५, काठमाडौं ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) को टोली नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न खुमलटारमा भेटवार्ता भएको छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली भेटवार्ताका लागि बिहानै प्रचण्ड निवास पुगेको हो । एमसिसी टोली आजै ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेको टोलीले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसंग छलफल गरेको थियो । सबै नेताहरुसंगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकोले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री देउवा जसरी पनि संसद्बाट एमसीसी पारित गर्ने तयारीमा हुनुहुन्छ भने सत्तारूढ गठबन्धनकै माओवादी र एकीकृत समाजवादी भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् । एमालेले सरकारको धारणा आएपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । सत्तारुढ दलहरु नै एकमत हुन नसकेका कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा पर्नुभएको छ । २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ ।