भाद्र २२, काठमाडौं ।
लगानी बोर्डले १० औं वार्षिक उत्सव मनाउ“दैछ । २०६८ सालमा लगानी बोर्डको स्थापना भएको थियो । बोर्डले ’लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ को मुल नाराका साथ वार्षिक उत्सव मनाउन लागेको हो । त्यही कार्यक्रममा रणनीतिक योजना सार्वजनिक गरिने भएको हो । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गरिनेछ । लगानी बोर्डबाट सहजीकरण भइरहेका परियोजनाहरुका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आवद्ध विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिनेछ । उद्घाटन समारोहपछि दिगो पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरु संचालन हुनेछन् । कोभिड १९ को महामारी पछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोडदिइरहेको सन्दर्भमा ’नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र संचालन हुनेछ । छलफलबाट नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्थाहरु, लगानीका अवसरहरु तथा चुनौति एवम् सार्वजनिक–निजी साझेदारी लगायत परियोजना विकासका संयन्त्रहरु रआपसी सहकार्यका सम्भावनाहरु पहिचान गर्ने अवसर प्राप्त हुने बोर्डको विज्ञप्तिमा छ ।