भाद्र १३, काठडाडौं ।
पछिल्लो दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्षा भएको थियो । पछिल्लो दुई दिनमा देशका १३ स्थानमा गरिएको मापन अनुसार यस वर्षकै भारी वर्षा भएको विभागले जनाएको छ । पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषामा अति भारी वर्षा रेकर्ड कायम भएको छ । दुई दिनयता सबैभन्दा धेरै वर्षा नवलपुरमा भएको छ । सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, राति प्रदेश–१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।