काठमाडौं । अनलाइन प्रविधिका कारण जहाँ बसेर पनि आजकाल गायक गायिकाले गीत रेकर्ड गरेर श्रोतामाझ ल्याउन सफल भएका छन् । यही सुविधाको सदुपयोग गर्दै गायक हिमाल सागरले अमेरिका बसेरै पछिल्लो दुई महिना यता दुईवटा गीत बजारमा ल्याइसकेका छन् ।

केही महिनाअघि कन्सर्टका लागि अमेरिका पुगेका यी गायक कोरोनाका कारण उतै बस्न बाध्य भए । पछिल्लो समय अमेरिकामा भ्याक्सिनको क्रम बढेपछि त्यहाँ कोरोना महामारी कम भएको छ । त्यहाँको जनजीवन सामान्य भएपछि उनी पनि विभिन्न राज्यमा कन्सर्ट गर्न व्यस्त छन् । अमेरिका बसाइकै क्रममा उनले अनलाइन प्रविधिको उपयोग गर्दै दुईवटा गीत आफ्नो स्वरमा रेकर्ड गराएर नयाँ भिडियो बजारमा ल्याएका छन् ।

गायक हिमाल सागरले एक महिना अघि तिमी छौ र…गीत रेकर्ड गराएर यसको भिडियो अमेरिकामै बनाएका थिए । आफ्नो त्यो गीत र भिडियोलाई दर्शकले रुचाएपछि यी गायकले फेरी अर्को पप गीत भुलिदेउ…’ रेकर्ड गराएर यसको भिडियो समेत बिहिबार रिलिज गरेका छन् ।

यो गीतमा उनी आफू मोडलको रुपमा प्रस्तुत भएका छन् । अमेरिकामै गीतको भिडियो छायांकन गरेर उनले त्यहीबाट भिडियो रिलिज गरेका हुन् ।

वियोगान्त भावको यो गीतमा यो गीतमा गायक हिमाल सागरले नै संगीत गरेका छन् । गीतको शब्द रोहन पौडेलले लेखेका हुन् । जसमा संगीत संयोजन महेश्वर मान राजभण्डारी कै रहेको छ । कन्सर्टबाहेक अरु बेला अमेरिकामा आफू फुर्सद भएकाले गीत रेकर्ड गराएर भिडियो बनाएर दर्शकमाझ ल्याएको उनले राजधानीलाई बताए । आफू विदेश यात्रामा रहे पनि संगीत सिर्जनामा निरन्तर लागिरहेको पनि गायकले प्रकाश पारे ।

उनको यो गीतको भिडियोलाई शैलेश घलेले छायांकन गरेका हुन् । जसमा विष्णु खड्काले सम्पादन रहेको छ । भिडियोको निर्देशन बिक्की पुलामीले गरेका हुन् ।

गीतको भिठियोमा हिमालसँगै लक्ष्मी ओली र पूर्ण लम्सालको अभिनय रहेको छ । गीतको भिडियोमा क्यान्सर पीडितको व्याथा प्रस्तुत गरिएको र दर्शकबाट आफूले गीतको राम्रो प्रतिक्रिया पाएको पनि हिमाल सागरले बताए ।