प्रदेश-प्रदेशबीच समृद्धिको प्रतिस्पर्धा गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आन्तरिम मामिलामा कसैको पनि हस्तक्षेप आफूलाई सह्य नहुने चेतावनी दिएका छन्। सात वटै प्रदेशका मुख्यमन्त्रीसँगको बैठकमा ओलीले नेपालको आन्तरिक मामिलामा कुनै पनि विदेशी निकायहरुको टिप्पणी आवश्यक नहुने बताए।

केही समयदेखि छिमेकी देशसँग सम्बन्ध बिगारेको भनेर आफूमाथि गलत आरोप लगाइएको भन्दै उनले गलत प्रचारको पछि नलाग्न मुख्यमन्त्रीहरुलाई सुझाव दिए। प्रधानमन्त्री ओलीले आफू देशप्रति संवेदनशील रहेको र देशको आन्तरिक मामिलामा कसैले हात हाले सहेर नबस्ने चेतावनी दिएका हुन्।

नेपालका आन्तरिक समस्याहरु आफैले समाधान गर्न सक्षम रहेको भन्दै उनको भनाइ थियो। केही समयपहिले पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीको भ्रमण र युरोपियन युनियनको भनाइलाई समेत लिएर प्रधानमन्त्री ओलीले देशको आन्तरिक मामिलामा विदेशीहरुले पढाउन जरुरी नरहेको बताएका हुन्। 

यो पनि : युरोपियन युनियनप्रति खनिए नेता- अनावश्यक सुझाव नदेऊ

यसैबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिमा प्रदेश–प्रदेश प्रतिस्पर्धामा उत्रने गरी काम गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा ओलीले अबको सरकारको एकमात्र लक्ष्य समृद्ध नेपाल निर्माण भएकाले त्यसतर्फ प्रतिस्पर्धी रुपमा काम गर्न मुख्यमन्त्रीहरुलाई भनेका हुन्। प्रदेशहरु आपसमा प्रतिस्पर्धी बन्न नसके आफै पछाडि पर्ने भएकाले त्यसलाई ख्याल गरी कार्यसम्पादन गर्न र आफ्नो प्रदेशमा भएका क्षमतालाई उच्चतम प्रयोगमा ल्याउन पनि निर्देशन दिए। 

प्रधानमन्त्री ओलीले अब देशमा पार्टीगतभन्दा विकासगत अवधारणा सुरु भएकाले काममा विश्वास गर्न उनीहरुलाई आग्रह गरेका हुन्। नेपालको सबै देशसँग सन्तुलित सम्बन्ध भएकाले त्यसमा ख्याल गर्दै काम गर्न पनि प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिए। 

प्रदेशका लागि देखिएका संवैधानिक र अन्य कानुनी अड्चन समाधान गर्न महान्यायाधीवक्ताको नेतृत्वमा एक समिति गठन भएकाले त्यसले समाधान गर्ने उनको भनाइ थियो। अब असफल हुने छुट कसैलाई नभएकाले सफल हुनैपर्ने बाध्यता मुख्यमन्त्रीसामु रहेको प्रधानमन्त्री ओलीले बैठकमा भनेका छन्।

यसअघि सशस्त्र युद्ध  र शान्तिपूर्ण आन्दोलनमा अधिकार प्राप्तिका लागि लडेको तर अब विकास गर्ने कार्यमात्र बाँकी रहेकाले असफल हुने मौका कसैलाई नभएको उनले बताए। देशले अब समृद्धि  र विकास माग गरेकाले त्यसलाई केन्द्रमा राखेर सातै प्रदेशले योजना बनाउन र बजेटको विषयमा केन्द्रले व्यवस्था मिलाउने उनले मुख्यमन्त्रीहरुलाई आश्वासन दिए। 

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव र महान्यायाधीवक्तालाई बोलाएर प्रदेश सञ्चालनका कठिनाइ र समस्याबारे छलफल कार्यक्रम राखेका हुन्।

заказать рекламуwww.oio.suзапросы поmykharkov.infoтуфли женские кожаные рикериммиграция в испанию плюсы и минусы