रुपालाई कोठा नदिने घरबेटी बबरमहलबाट पक्राउ

६ असार– कोठा भाडामा बस्न दिने कवुल गरेपछि जात थाहा पाएर भाडामा नदिने घरबेटी पक्राउ परेकी छिन् । कथित दलित भएको कारण देखाउँदै कोठा नदिएको आरोपमा काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानलाई पक्राउ गरेको हो ।

जात थाहा पाएपछि कोठा नदिएको जाहेरीको आधारमा आईतबार पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए । उनले भने,‘उनलाई भर्खरै पक्राउ गरिएको हो, अब जिल्ला अदालतमा लगेर म्याद थप्छौँ अनि अनुसन्धानलाई अगाडी बढाउछौँ ।’

दलित भएकै कारण कोठा नदिने भनिएपछि सञ्चारकर्मी रुपा सुनारले गत असार ३ गते घरबेटी प्रधान विरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिईन् ।