प्रधानमन्त्री ओलिका दाहिने हात मानिने गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन सकेनन्।विश्वासको मत लिने प्रस्तावको पक्षमा २७ र विपक्षमा ३० मत परेको छ।

मतदानमा स्वतन्त्र सांसद दीपक मनाङे अनुपस्थित थिए। राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका छन्। उनी मतदानको समयमा कुर्सीबाटै उठेनन्।

संविधानको धारा १६८ उपधारा ३ अनुसार बनेको गुरुङ सरकारले विश्वासको मत (बहुमत) प्राप्त गर्न नसकेपछि उपधारा ५ मा गएर अर्को सरकार बनाउने बाटो खोलेको छ।

‘उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ संविधानको उपधारा ५ मा भनिएको छ।

अब प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्ने छिन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको ३० सांसद छन्। स्वतन्त्र सांसद दीपक मनाङे विपक्षी गठबन्धनमा उभिदा बहुमत पुग्छ।

उपधारा ५ अनुसार नयाँ सरकार बन्न नसकेमा प्रदेश मध्यावधिमा जाने छ।