काठमाडौं । सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दैनिक उपभोग्य बस्तु २० प्रतिशत छुटमा बिक्री गर्ने घोषणा गरेको छ।केही सामान बजारमा भन्दा झन्डै ५० प्रतिशत नै सस्तो रहेको छ ।

छुटका लागि साल्ट ट्रेडिङले नागरिकता वा भोटर कार्डको फोटोकपी माग्ने गरेको छ । साल्ट ट्रेडिङले बजारको मुल्य भन्दा सस्तोमा सामान दिने गरेको सहायक प्रबन्धक निर्देशक प्रज्जलमान प्रधानले बताए । कुनको कति रुपैयाँ पाइन्छ हेर्नुहोस अहिले चिनीको मूल्य प्रतिकेजी ९० देखि १ सय रुपैयाँसम्म पर्छ । साल्ट्र ट्रेडिङले भने प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै, बजारमा २५० मा बिक्री भइरहेको भटमासको तेल साल्ट ट्रेडिङमा १ सय ८८ रुपैयाँमा किन्न सकिन्छ । पिठो प्रतिकेजी ४४, नून प्रतिप्याकेट १६ र ग्यास प्रतिसिलिण्डर १ हजार १ सय २० मा साल्ट ट्रेडिङले बिक्री गरेको गरिरहेको छ ।

त्यस्तै २० र ३० केजीको चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुट दिएर बिक्री भइरहेको छ । सिमी पहिले प्रतिकेजी १ सय २० रुपैयाँ थियो । अहिले प्रतिकेजी ९५ मा बिक्री भइरहेको छ ।’

जेठ २१ गते २ हजार ३ सय ३७ केजी चामल र सिमी बिक्री गर्दा उपभोक्ताले २९ हजार ५ सय ७३ रुपैयाँ छुट पाए । २३ गते ३ हजार ८ सय २३ केजी सिमी र चामल बिक्री गर्दा ४८ हजार २०७ रुपैयाँ छुट पाएका छन् । २४ गते ७ हजार ५ सय ३२ केजी चामल र सिमी बिक्री गर्दा उपभोक्ताले ९५ हजार २६८ रुपैयाँ छुट पाएका छन् । २५ गते १० हजार ६३ केजी चामल र सिमी बिक्री गर्दा १ लाख २६ हजार ३७७ रुपैयाँ छुट पाएका छन् ।

कम्पनीले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र छुट दिएर सामान बिक्री गर्ने गरेको छ ।