नेपालको राजनीतिले जटिल मोड लिएको बेला नेपाली सेनाले बोलेको छ । अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताएको छ।  सेनापति पूर्णचन्द्र थापाले  हिजो जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको उल्लेख गरे । महतोको अभिव्यक्ति आएको भोलिपल्टै सेनाको यस्तो कुरो बाहिर आएको हो ।

राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेना सहित अन्य सुरक्षा निकायले पनि ध्यान दिनुपर्ने सेनाले भनेको छ । यस्तै सेना राजनीतिक विषयभन्दा बाहिर रहेको बताउदै कुनैपनि समस्याको हल विधि पद्दति अनुसार खोज्नुपर्ने बताए । उनले राजनीतिक सुझबुझका आधारमा समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

उनले सरकारसँगको वार्तापछि विप्लव समूह शान्तिपूर्ण मूल राजनीतिमा आउने संकेत रहेको उल्लेख गरे ।  नेपाली सेनालाई जहिले पनि सुरक्षा चुनौति आउने बताउँदै समाजमा कसैले द्वन्द फैलाउन खोज्छ भने अन्य सुरक्षा निकाय, मिडिया र आम नागरिकको सहयोगमा त्यसलाई परास्त गर्न सकिने बताए । उनले विप्लव समूह भविष्यमा द्वन्द्वमा नजाने विश्वास व्यक्त गरे ।