काठमाडौँ —नेपालमा राजनीति जटिलता बढिरहेको बेला नेपाली सेनाको नेतृत्व फेरिने भएको छ। सैनिक ऐनलाई संशोधन गराएरै भए पनि आफ्नो पदावधि लम्बाउन सक्ने हल्ला चलिरहेका बेला अहिलेकाा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया थालनी गरेका बताएका छन । अवकाश पाउनु ९५ दिनअघि नै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया थालनी गरेका छन् ।

आफ्नो एक हजार दिन पूरा भएको अवसरमा सञ्चार माध्यमका प्रतिनिधिसँगको अन्तर्क्रियामा आइतबार प्रधानसेनापति थापाले भने, ‘आज बिहानैको कार्यक्रमदेखि नेतृत्व हस्तान्तरणको काम अघि बढाएको छु । सक्षम कमान्डरलाई नेतृत्व हस्तान्तरण गर्नेछु ।’ उनले साउन १५ गतेदेखि अवकाशअघिको एक महिने बिदा लिने पनि प्रस्ट पारे । प्रधानसेनापति थापाको तीनवर्षे कार्यकाल भदौ २४ गते सकिँदै छ । थापापछि भदौ २५ गतेबाट अहिले बलाधिकृत रथी तथा प्रधानसेनापतिको दोस्रो वरीयताका प्रभुराम शर्माले नेपाली सेनामा तीन वर्षका लागि नेतृत्व लिनेछन् ।

प्रधानसेनापति थापाले आफ्नो तीनवर्षे कार्यकालमा मुख्य गरी चारवटा क्षेत्रमा केन्द्रित काम भएको दाबी गरे । आफ्नो पहिलो काम सैनिक ऐन–२०६३ लगायत कानुन संशोधन गरेको उनको भनाइ छ । आफ्नो नेतृत्वमा लामो समयदेखि संगठनमा चर्चा हुँदै आइरहेको नेपाली सेनाको नयाँ ढाँचा तीन जोर एक अर्थात् थ्री प्लस वानमा अघि बढाएको पनि उनले बताए ।

‘रणनीतिक र विकासको हिसाबमा सेनालाई नदीको बेसिनको आधारमा पूर्व कमान्ड, मध्य कमान्ड र पश्चिम कमान्ड तथा केन्द्रमा रणनीतिक हिसाबमा उपत्यका कमान्ड संरचनामा ढालिएको छ,’ उनले भने । पूर्वमा कोसी नदीको आधारमा पूर्वी कमान्ड, मध्यमा गण्डकी नदीको आधारमा गण्डकी कमान्ड र पश्चिममा कर्णाली नदीको आधारमा कर्णाली कमान्ड राखिएको हो । सेनामा यसअघि ७ प्रदेशमा ७ पृतना र एउटा उपत्यकामा पृतना गरी ८ पृतना थियो ।